तनहुँः तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बलात्कारसम्बन्धी मुद्धाको थप अनुसन्धान गर्न नायक शाहलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरीशचन्द्र गौतमले जानकारी दिए ।
यसअघि सो मुद्दामा पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो । उमेर नपुगेकी किशोरीमाथि बलात्कार आरोपमा शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो ।
किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा र जिल्ला प्रहरी कार्यालय नवलपरासीमा छुट्टाछुट्टै जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा केही दिनअघि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर बयान लिएको थियो। अनुसन्धानका क्रममा अभियोग लगाउन पर्याप्त प्रमाण भएकाले मुद्दा दर्ता गरिएको हो।
हाल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् ।
- ADVERTISEMENT -