काठमाडौं । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधानविपरीतको बाटोमा गएको आरोप लगाएका छन् । मंगलबार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बेठकमा नेता अधिकारीले यस्तो बताएका हुन् ।
उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौती दिएको आरोप समेत लगाए । आधारभूत शिक्षा र स्वास्थ्यको विकास नभईकन मुलुकको उन्नति नहुने उनले उल्लेख गरे । उनले संघीय शिक्षा ऐनको विधेयक समितिमा ल्याउन प्रस्ताव गरे ।
आधारभूत र माध्यमिक शिक्षाको सन्दर्भमा संघीय शिक्षा ऐन नल्याए आधारभूत शिक्षा र स्वास्थ्यको कुरा अलपत्र पर्ने उनको भनाइ छ । उनले संघीय शिक्षा विधेयक ल्याउन ढिला भइसकेको भन्दै संघीय शिक्षा विधेयक ल्याउँदा पाठ्यक्रमको एकरूपता, शिक्षकको योग्यता, शिक्षकको योग्यता प्रमाणित गर्ने निकाय, देशभर एकै किसिमको परीक्षण गर्ने विधि समावेश गरेर मात्रै ल्याउन सरकारलाई सुझाव दिए ।








































