काठमाडौँ – नेता घनश्याम भुसालले लेखेको कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्छ भन्ने आलेखको नेकपा एमाले अध्यक्ष केपी ओलीले चेतावनीयुक्त जवाफ दिएका छन्।
भुसालले मंगलबार कान्तिपुर दैनिकमा ‘कम्युनिष्ट पार्टीको भविष्यः एकता कि सत्यानाश’ शीर्षकको आखेलमार्फत पुनः एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुपर्नेमा जोड दिएका थिए।
भुसाललाई ‘तथाकथित विद्वान’ संज्ञा दिँदै ओलीले जिस्कने काम नगर्न चेतावनी दिए।
अनेमसंघले आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘कुनै कुनै विद्वानहरुले लेखिदिन्छन्, कम्युनिष्ट पार्टीहरु मिल्ने कि समाप्त हुने? कम्युनिष्टका खोल ओडेका तथाकथित विद्वानले लेखिदिन्छन् र निराश पारिदिन्छन्।’
ओलीले भुसालको लेखलाई बङ्याउँदै मोहन वैद्यसँग मिल्न नसक्ने प्रतिक्रिया दिए। कतै पनि नजित्ने भएकाले मोहन वैद्यको पार्टीले स्थानीय तहको चुनाव बहिस्कार गर्ने निर्णय गरेकाले त्यस्तो पार्टीसँग एमालेलाई मिल्न सुझाव दिएको भन्दै उनले आपत्ति जनाए।
‘मोहन वैद्यजीले भन्नुभएछ स्थानीय तहको चुनाव बहिस्कार गर्ने रे। किन बहिस्कार गर्ने भन्दा उहाँहरुको कतै पनि जित्ने स्थिति छैन। त्यो पार्टीसँग मिलेन भने एमाले समाप्त हुन्छ रे,’ ओलीले अगाडि भने, ‘माधवकुमार नेपाल भन्ने गुटलाई भन्या हो कि एमालेलाई भन्या हो? एमालेलाई भन्या हो भने यस्ता जिस्काउने खालका कुरा नगर्न म सबैलाई सुझाव दिन चाहन्छु।’
ओलीले माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै ती पार्टी कम्युनिष्ट नभएको जिकिर गरे।
ओलीले भुसालप्रति आक्रोश पोख्दै भने, ‘दुई तिहाइको हैसियतमा रहेको कम्युनिष्ट पार्टीलाई फुटाउने, टुक्रा बनाउने, चोइट्याउने अनि एकता हुन्छ? कम्युनिष्ट पार्टीलाई भोट नदिएर प्रतिक्रियावादीलाई पछाडिको ढोकाबाट भागेर अन्त भोट हाल्ने? पार्टीलाई परे भोटै नहाल्ने, त्यस्ता पनि कम्युनिष्ट हुन्छन्?’








































