काठमाडौं : भिजिट भिसामा खाडी मुलुक गएर अलपत्र परेका नेपालीहरुको पछिल्लो अवस्था बुझ्न प्रहरीसहितको टोली लिएर श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दुबई,कतार र सेसेल्स जाँदैछन्। भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का रहेको श्रम मन्त्रालयले जनाएको छ।
श्रममन्त्री किसान श्रेष्ठले खाडी मुलुकमा भिजिट भिसामा गएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानका लागि आफू जान लागेको बताए। मन्त्री श्रेष्ठले अन्नपूर्णसँग भने,’ भिजिट भिसामा गएर अप्ठ्यारोमा परेका नेपालीहरुको समस्या समाधान गर्छौं। वास्तविकता बुझ्ने प्रयास गर्नेछौं।’
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेट्सका आफ्ना समकक्षीका साथै अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग छलफल गर्नेछन्। मन्त्री श्रेष्ठले मंगलबार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे दुबईका मानव संशाधनमन्त्री डा.अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्ने कार्यक्रम छ।
मंगलबार नेपाल- युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन्। नेपाल-युएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन्। नेपाल-युएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।
- ADVERTISEMENT -
यस्तै, बुधबार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधबार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन मन्त्री श्रेष्ठले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नेछन्।
मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरहरुबारे त्यहाँका उच्च अधिकारीहरुसँग छलफल हुनेछ ।
भ्रमण टोली आइतबार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।