काठमाडौँ, फागुन २३ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेको कल सेन्टरले रुस–युक्रेन युद्धमा फसेका नेपाली नागरिकलाई उद्धार गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको छ ।
वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिई वा नलिई रुस तथा युक्रेनमा गएका र त्यहाँ जारी युद्धका कारण समस्यामा परेका व्यक्तिलाई सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको हो ।
त्यहाँ अप्ठ्यारोमा परेमा वा उद्धार गर्नुपर्ने अवस्था भएमा ती देशमा रहेका नियोग वा नेपालमा रहेका आफन्तलाई आफ्नो अवस्थाबारे अपडेट गराउन कल सेन्टरले जनाएको छ ।कल सेन्टरमा फोन, भाइबर, फेसबुक तथा इमेलमार्फत सम्पर्क गर्न सकिन्छ । नेपालबाट आफन्तले निःशुल्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ मा फोन गर्न सक्नुहुन्छ । यस्तै विदेशबाट ९७७ १ ५९७०००८ फोन नम्बरमा सशुल्क सम्पर्क गर्न सकिने कल सेन्टरले जनाएको छ ।
युक्रेनमा श्रम स्वीकृति लिएर वा नलिई गएर श्रम गरिरहेका नेपाली अप्ठ्यारोमा परेर उद्धार गर्नुपर्ने अवस्थामा रहेको भएमा तु्रुन्त सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले युक्रेनमा रहेका नेपालीलाई सम्भव भए सिधा कल सेन्टरमा र नसके आफन्तमार्फत भए पनि आफ्नो सम्पूर्ण अवस्था जानकारी गराउन आग्रह गरिएको जानकारी दिनुभयो ।
- ADVERTISEMENT -
नेपाल सरकारसँग युक्रेनमा कति नेपाली छन् भन्ने यकिन विवरण छैन । वैदेशिक रोजगारीका लागि युुक्रेनमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने २३७ रहेको विभागले जनाएको छ । यो सङ्ख्या २०७५ सालयता श्रम स्वीकृति लिएर जानेको भएको जनाइएको छ ।
विभागका अनुसार २०७५/७६ मा आठ जना, २०७६/७७ मा २४ जना, २०७७/७८ मा सात महिलासहित ५३ जना युक्रेनमा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा मात्र युक्रेनमा वैदेशिक रोजगारीका लागि भन्दै १३९ जना युक्रेन पुगेको पाइएको छ ।