रुपन्देही, शुक्रबार, २० फागुन २०७८ । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालले कुनै पनि बहानमा हिंसा र द्वन्द्वलाई स्वीकार्न नसक्ने बताएका छन् ।
हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गर्दै गृहमन्त्री खाँणले स्थानीय निर्वाचनका लागि सरकारले मिति घोषणा गरिसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने र सबैलाई तयारीका लागि आग्रह गरे ।
रुपन्देहीमा शुक्रबार आयोजित कार्यक्रममा उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावी गरे ।
उनले भने, ‘सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्नेमा सरकार विश्वास रहेको छ । अब मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन सक्ने अवस्था छैन, यही संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिस्कृत गर्न सकिन्छ तर संघीयताबाट पछि हट्न भने सकिँदैन ।’
- ADVERTISEMENT -
मन्त्री खाणले राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गर्दै नेपाली जनताले चुनेका जनप्रतिनिधिहरुले बनाएको संविधान भएको र यो संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रण स्थापना गरेकाले यसको सबैले संरक्षण गर्नुपर्ने धारणा राखेका छन् ।
उनले गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा सबै दल जनतामाझ जाने सरकारको विश्वास रहेको बताए ।
उनले एमसीसी पारित गर्ने क्रममा सहयोग पुर्याउने सबै दलको समन्वयलाई सरकार र नेपाली कांग्रेसले धन्यवाद दिएको बताए ।