काठमाडौँ, फागुन ११ गते । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ ।
जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको बताउँदै भन्नुभयो, “फागुन मसान्तसम्ममा एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भइरहेको छ ।”
करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हँुदैछ । उहाँका अनुसार पहिलो चरणमा सुन्धारास्थित जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ तर पूर्ण सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने अनुमान गरिएको छ ।
“माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना थियो तर कोरोना सङ्क्रमण महामारीका कारण एक महिना ढिलो भएको छ,” गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले बताउनुभयो ।
सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हुन नसकेकाले थप सुधारका काम पनि जारी रहेको विभागले जनाएको छ । करिब सात हजार कैदीबन्दी राख्ने क्षमता रहेको सो कारागार निर्माण कार्य छ महिनादेखि रफ्तारमा भइरहेको छ ।








































