काठमाडौं, शुक्रबार, ६ फागुन २०७८ । सत्ता गठबन्धन दलभित्रै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसदमा लगेर अनुमोदन गर्ने विषयमा तीब्र मतभेद र रस्साकस्सी चलिरहेका बेला राजनीतिक भेटघाट तीव्र भएको छ । एमसीसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि अहिले बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।
त्यस अगाडी सत्ता गठबन्धन दलका दुई धुव्रमा विभाजित नेताहरुको राजनीतिक भेटघाट तीव्र भएको हो । विहिवारको सत्ता गठबन्धन दलको बैठक लगत्तै प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवालाई साथ लिएर एमाले अध्यक्ष केपी ओली भेट्न बालकोटस्थित ओली निवास पुगेपछि राजनीतिमा नयाँ तरंग सिर्जना भएको छ ।
सत्ता गठबन्धन अव संकटमा परेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरु वाक्लो राजनीतिक भेटघाटमा लागेका हुन् ।
ओलीसँग अवेर राती ११ बजेसम्म भेटघाट गरेर फर्किएका प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारीमा छन् । प्रधानमन्त्री आफ्नै पार्टीका नेता प्रकाशमान सिंहसँग यस विषयमा थप छलफल गर्न सिंह्को चाक्सीवारी निवास पुगेका छन् ।
उता माधव नेपाल र झलनाथ खनाल भने प्रचण्ड निवास खुमलटारमा पुगेका छन् । नेकपा एकीकृतका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष नेपाल भने प्रचण्डसँग अवको रणनीति बनाउने विषयमा छलफलका लागि खुमलटार पुगेको नेपाल निकट नेताहरुले बताएका छन् ।








































