काठमाडौँ, ३ फागुन । पानी व्यवसायीहरुको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको छैँटौ अधिवेशन आगामी फागुन २५ गते हुने भएको छ ।
सङ्घको भर्खरै सम्पन्न बैठकले आगामी फागुन २५ गते बुधबार काठमाडौँमा अधिवेशन गर्ने निर्णय गरेको हो । सङ्घका महासचिव धुब्रबहादुर गौतमले फागुन २० गतेभित्र सदस्यता नविकरण सम्पन्न गरेर फागुन २५ मा अधिवेशन सम्पन्न गर्नेगरी सङ्घले तयारी थालेको जानकारी दिनुभयो । उद्योगलाई मात्र नयाँ सदस्यता र नविकरण गर्न दिने सङ्घले जनाएको छ ।
सदस्यता नविकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने महासचिव गौतमले बताउनुभयो । अधिवेशनमा उद्योगपति उपस्थित हुन नसकेमा सम्पूर्ण शेयर सदस्यलाई माइन्यूटसहित अधिकार दिएर पठाउन पाइने सङ्घले जनाएको छ । हाल देशभर नेपाल बोटल वाटर उद्योग सङ्घमा ५८६ उद्योग आवद्ध रहेका छन् ।