फाल्गुन ३,काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोड्नुभन्दा अघि नै पार्टीका पूर्व केन्द्रीय सदस्य सकुल शाहले पार्टी छोडेका छन् । उनले पार्टीमा अब समस्या आउने भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
‘पार्टीमा यस्तो समस्या आउँछ भन्ने मैले पहिले नै अनुमान लगाएको थिँए, जे भनेको थिँए त्यही भयो’ उनले भने ‘राप्रपा अध्यक्ष लिङ्देन र भर्खरैमात्र अर्को पार्टीको अध्यक्ष बनेका कमल थापा दुवैजना उस्तै हुन्, उनीहरु एजेण्डाको लागि राजनीति गर्दैनन् ।’ शाहले दुवैजनाको एजेण्डा र पार्टीको लाइन झट्ट सुन्दा राम्रो भए पनि उनीहरु एजेण्डाविहीन र गन्तव्यविहीन भइसकेको आरोप लगाए ।
शाहले २०६६ सालबाट पार्टीमा सक्रिय भएर राजनीति गरेका थिए । शाहले आफूले पार्टीको लागि धेरै श्रम र पसिना बगाए पनि त्यसको सम्बोधन हुन नसकेको र पार्टीले सही दिशा लिन नसकेको पनि स्पष्ट पारेका छन् । उनले राप्रपा र थापा फेरि पनि अध्यक्ष भएको पार्टी राप्रपा नेपालको एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था नै हो भने ‘श्रीमान गम्भीर नेपाली’ राष्ट्रिय गान गाउनुपर्ने सुझाव दिएका छन् । शाहले यो राष्ट्रिय गानले मात्र वास्तवमा नेपाल र नेपालीको भावनाको सम्बोधन गर्ने पनि जनाए । गत पौष २७ गते परेको राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा पनि पुरानै राष्ट्रिय गान गाइएको थियो । सिद्धपुरी अभियान काठमाडौं जिल्ला समितिको त्यो कार्यक्रममा शाह पनि सहभागी थिए । शाह अभियानका केन्द्रीय अध्यक्ष हुन् ।
- ADVERTISEMENT -
शाहले लिङ्देन र थापा दुवैले जनताको भावना र कार्यकर्ताको सपनामाथि प्रहार गरेको भन्दै आएका छन् । मंसिर १५ गतेदेखि १७ गतेसम्म भएको महाधिवेशनमा थापा लिङ्देनसँग अध्यक्षमा पराजित भएका थिए । थापाले माघ २५ गते हेटौंडा पुगेर पार्टी त्यागेको घोषणा गरेका हुन्
। ‘पार्टीमा अहिले चरम विवाद सुरु भइसकेको छ, यो लडाइले कसैलाई पनि फाइदा गर्दैन, अन्तिममा पार्टी कमजोर नै हुने हो’ शाहले थपे ‘ लिङ्देनले पनि थापालाई समेटेर लानु पर्दथ्यो त्यो खुवी देखिएन, थापालाई राप्रपामा अवमूल्यन गर्नु लिङ्देनको कमजोरी हो ।’ उनले पार्टीका केही अन्य नेतालाई व्यवस्थापन गर्नु अर्को चुनौती भएको देखेका छन् ।
शाहले थापा र केही अन्य नेताले राप्रपा छोड्नु स्वाभाविक भएको बताए । उनले राप्रपामा भोलिका दिनमा अझै ठूलो खतरा आउन सक्ने भन्दै आजैबाट सचेत रहन पनि नेतृत्वलाई आग्रह गरेका छन् । शाहले राजनीतिबाट सन्यास लिएर अब अभियानलाई नै अघि बढाउने जनाएका छन् ।