काठमाडौं, शुक्रबार, २१ माघ २०७८ । नारायणहिटी दरबार संग्रहालयको मर्मत,संहार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आज निर्देशन दिनुभएको छ ।
दरबार भित्र रहेका संग्रहालयका भौतिक बस्तुहरु जिर्णहुँदै जान लागेको जनचासो बढेपछि संरक्षण र प्रबर्दनका लागि मन्त्री आलेले मन्त्रालयका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको हो ।
नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जिर्ण अवस्थामा रहेका सम्पुर्ण संरचनाहरुको मर्मत सम्भार गर्न निर्देशन दिनु भएको हो । संग्रहालयमा सोफाहरु समेत गल्दै गएको अबस्था छ ।
दरबारमार्ग प्रहरी बृतका प्रमुख डिएसपी बिश्वराज खड्का सहितको प्रहरी सुरक्षा टोली सहित संग्रहालयको निरिक्षण गरि तत्काल संरक्षण र प्रबर्दनमा अघि बढ्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन गर्दै गेटको बाहिरी छाना देखि संग्रहालयमा रहेका पुराना गाडीहरुलाई मर्मत र संग्रहालय भित्र बाहिर रङरोग गर्न छुट्टै डिपिआर बनाउन पनि निर्देशन गर्नु भएको छ ।
- ADVERTISEMENT -
नारायणहिटी दरबार परिसर
नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै राजदरवारवाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए ।
त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । काठमाडौं महानगरपालिका वडा नं। १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय छ । मध्य भागमा महेन्द्र मन्जिल छ । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग बसेको थियो ।
नारायणहिटी दरबारको ठीक पछाडि रहेको फोहरा बगैँचा पनि आर्कषक छ । त्यो बगैचा त्रिभुवनले बनाउन लगाएका थिए । त्यस बगैँचाको बीचमा सानो पानीको कुण्ड बनाइएको छ । त्यहाँ घुम्ने र गोल घर छन् ।
दरबार संग्रहालयको महत्व र संरक्षण
त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजाहरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका थिए। स्वर्गीय राजा वीरेन्द्रको अध्ययन कक्ष, सैलुन कक्षक, अध्ययन कक्ष देखि सिनेमा हललगायत सर्वसाधारणका लागि खुला भए पनि त्यहाको भौतिक रुपमा रहेका बस्तुहरु माक्किदै गएकोमा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बजेटकै कारणले परेको हो या समयमा चासो नपुगेको हो । खुला गरिएका नारायणहिटीको छानो जीर्णोद्धार कार्य अधुरो छ । दरबार संग्रहालयमा सरसफाई कतै देखिँदैन् ।
त्यसैगरी, भरखरै सार्वजनिक गरिएको श्रीसदनको समेत छानो कमजोर छ । तीन तलाको भवनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्दथे ।
लामो कम्पाउन्ड छिचोलेर १२ कोठे यस भवन प्रवेश गर्न सकिन्छ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेको छ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय छन् ।
प्रवेश ढोकाबाट सिधै उत्तरभित्तातर्फ भर्याङ रहेको छ । बीच तला उक्लिँदै गर्दा राजा महेन्द्र रानीद्वय रत्न र इन्द्रको फोटो देखिन्छ । यो तला राजा र रानीको कक्ष हो । पूर्वतर्फ रानी ऐश्वर्यको ड्रेसिङ तथा शृंगार कोठा, शृंगार पूजा कक्ष छन् भने पश्चिमतर्फ राजा वीरेन्द्रको पोसाक कक्ष, दम्पतीको खोपी छन् ।
माथिल्लो तेस्रो तला पूर्वतर्फ श्रुतिको सुत्ने, पढ्ने, पेन्टिङ गर्ने र झुलिने खुला ठाउँ छ । पश्चिमतर्फ नीराजनको पढ्ने, सुत्ने र व्यायाम कक्ष छन् । राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसर पुर्याइएको छ । नारायणहिटी दरबारमा जम्माजम्मी ५२ वटा बैठक(कक्षहरू छन् । कक्षहहरुमा सजाइएका अवशेषको महत्वलाई समयमै सुरक्षित अनिवार्य छ ।
मर्मतको पखाईमा दरबार संग्रहालय
दरबारमार्गको शोभा भनेको दरबार संग्रहालय हो । संग्रहालय भित्र होस या बाहिर उचित स्याहार र संरक्षण नपाउँदा उराठ अबस्थामा देखिन्छ । सरसफाई, रंगरोगन र मर्मतको पखाईमा छ दरबार संग्रहालय । संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनि १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरु भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने मन्त्री आलेले जानकारी दिए ।
‘थुप्रै कामहरु भएका, नभएका कुराहरु हामीले अवलोकन पनि गर्यौँ ‘। अब यसलाई छिट्टै सम्पन्न गर्नेतिर आगामी बजेटमा तयारीमा पनि छौँ ।