माघ १९, काठमाडौं ।
ठमेलको होटेल बैशाली नजिकै चिटिक्क परेको क्याफे छ( सेभेन्थ डोर लाउन्ज एन्ड बार । यसका सञ्चालक हुनुहुन्छ, गोरखा स्थायी घर भएका राजन भट्ट । ६ वर्ष जापान बसेर फर्किनुभएका भट्टले एक महिनाअगाडि यसलाई सञ्चालनमा ल्याउनुभएको हो । उहाँको यो व्यवसायमा पत्नी कमला भट्टको पनि साथ छ । जापान बस्दा उहाँकी पत्नी सुपरमार्केटमा काम गर्नुहुन्थ्यो ।
कोरोनाले अन्य मानिसहरू आफ्नो व्यवसाय बन्द गरिरहेका छन् । व्यापारिक केन्द्र ठमेलबाट त व्यापारीहरू भागिरहेका छन् । यस्तो विषम परिस्थितिमा राजनले सेभेन्थ डोर लाउन्ज एन्ड बार सञ्चालनमा ल्याउनुभएको छ । ३० लाख रुपैयाँमा सञ्चालनमा ल्याइएको यस रेस्टुराँमा उहाँले चारजनालाई रोजगारी दिनुभएको छ ।
- ADVERTISEMENT -
गोरखाको भिमसेन थापा गाउँपालिकाबाट ६ वर्षअगाडि कामको सिलसिलामा राजन जापान पुग्नुभएको थियो । नेपाली र भारतीयहरूको ठूलो जनसंख्या भएको यो शहर हो चिवा । जापानको चिवा शहरस्थित तोरियामाया रेस्टुराँमा उहाँले ६ वर्ष काम गर्नुभयो । वर्किङ भिसामा जापान पुग्नुभएका उहाँले सुरुका ६ महिना भाँडा माझ्ने काम गर्नुभयो । त्यसपछि हेल्पर र कुक भएर काम गर्नुभयो । ‘सुरुमा एकदमै गाह्रो भयो,’ उहाँले भन्नुभयो, ‘अरू मानिसहरू बोलेको सुनेँ । आफूले पनि बोल्दाबोल्दै अभ्यास भयो ।
तोरियामाया रेस्टुराँमा काम गर्दा राजनलाई मुख्य सेफले विभिन्न खानाका परिकार बनाउन सिकाए । विशेषगरी त्यो रेस्टुराँमा बट्टाइको अन्डा पोलेको, कुखुराको छाला, मुटु, पांग्रा पोलेको परिकार पाइन्थ्यो । बंगुरको पनि पोलेका आइटम पाइन्थे । जापानिज सेफका रूपमा अनुभव बटुलेका उहाँ नेपालमा पनि त्यस्तै परिकार पाइने रेस्टुराँ खोल्न चाहनुहुन्थ्यो ।
राजनलाई जापानले धेरै कुरा सिकाएको छ । खानाका विभिन्न परिकार बनाउन, भाँडा माझ्न, ट्वाइलेट सफा गर्न उहाँले जापान गएरै सिक्नुभयो । ‘मलाई कुनै पनि काम गर्न लाज लाग्दैन,’ उहाँले भन्नुभयो, ‘कामप्रतिको सम्मान गर्न, अरूको सत्कार गर्न जापानले नै सिकायो ।’ कामको महŒवबारे बुझ्न र मिहिनेत गर्न जापानले नै उहाँलाई सिकायो । जापानीहरूस“ग काम गर्न पनि निकै सहज भएको उहाँको अनुभव छ ।
विदेशीहरूले अन्न खेर फाल्दैनन् । कुनै रेस्टुराँमा कसैले खाना खेर फालेको विरलै देखिन्छ । कसैले फालेमा मालिकले त्यसलाई गम्भीररूपमा लिन्छन् । किन ग्राहकले खाना खेर फाले रु यस विषयमा अध्ययन गर्छन् । र, ग्राहकहरूलाई नयाँ परिकार पस्किन्छन् । रेस्टुराँमा आउने ग्राहकहरूलाई जापानीले न्यानो अभिवादन गर्छन् । यो कुराले पनि राजनलाई प्रभावित पारेको छ ।
जापान बस्दा सुरुमा राजन १३ घण्टा खट्नुभयो । पछि दिनकै १८ घण्टासम्म काम गर्नुभयो । बिहान सुपरमार्केटमा तीन घण्टा र पछि दिउँसो २ देखि राति २ बजेसम्म रेस्टुराँमा खट्नुहुन्थ्यो । आफ्नै रहरले २२ वर्षको उमेरमा जापान पुग्नुभएका राजनलाई जापानले मिहिनेती बन्न सिकायो । त्यसअघि १७ वर्षमै कामका लागि दक्षिण कोरिया पुग्नुभएको थियो । काठको कम्पनीमा काम गर्न एकदमै गाह्रो भएपछि उहाँ दुई महिनामै नेपाल फर्किनुभयो ।
कोरियनहरूभन्दा जापानिजहरूसँग काम गर्न सहज भएको राजनको अनुभव छ । जापानीहरू एकदमै सहयोगी हुन्छन् भन्ने उहाँको विश्वास छ । अहिले पनि काम गरेको रेस्टुराँबाट मालिकले फेरि फर्किन बोलाइरहेको उहाँ सुनाउनुहुन्छ ।
६ वर्ष जापान बसेपछि राजनलाई नेपाल फर्किएर उद्यम, व्यवसाय गर्न मन लाग्यो । नेपालमा जापानी परिकार पाइने रेस्टुराँ उहाँ खोल्न चाहनुहुन्थ्यो । त्यसका लागि
धेरै स्थानहरूमा ठाउँ पनि खोज्नुभयो । तर, भनेजस्तो ठाउँ पाइएन । लकडाउन हुने हल्लाका बीच ठमेलमै उहाँले रेस्टुराँका लागि ठाउँ पाउनुभयो । भने जति धेरै ठूलो ठाउँ नपाए पनि उहाँले यसैबाट सुरुवात गर्नुभयो । छिट्टै नै उहाँले ठमेलमा अर्को ब्रान्च पनि सुरु गर्ने योजना बनाउनुभएको छ ।
ठमेलमा राजनले रेस्टुराँ सञ्चालन गर्दा कतिले बहुलायो भन्थे । कतिले अनेक आरोप लगाए । सबै व्यापारीहरू ठमेलबाट भागिरहेका बेला एक युवाले व्यवसाय सुरु गर्दा हौसला थप्ने होइन निराश बनाइदिए । तर, राजनलाई विश्वास थियो । एकदिन सफल बन्नेमा मन ढुक्क थियो । विश्वास र हौसलाका साथ रेस्टुराँ सञ्चालन गरिरहनुभएको छ । आफू सञ्चालक भए पनि अरू स्टाफहरूलाई साथीकै रूपमा व्यवहार गर्नुहुन्छ । जापानमा सिकेको सीप, ज्ञानलाई उहाँ भरपूर सदुपयोग गर्न चाहनुहुन्छ ।
राजनले सञ्चालन गर्नुभएको सेभेन्थ डोर लाउन्ज एन्ड बारमा एकैपटक ३० जना ग्राहक बस्न सक्छन् । २५ भन्दा बढी खानाका परिकारहरू यहाँ उपलब्ध छन् । बिहान साढे ७ बजे खुल्ने यो रेस्टुराँ राति १२ बजेसम्म खुल्छ । ग्राहकहरूको भिड बढ्दा भने राति २ बजेसम्म पनि खुल्छ । राजनका विचारमा नेपालमा होटल तथा हस्पिटालिटीका क्षेत्रमा गर्न बाँकी थुपै्र कामहरू छन् । नेपालमा ग्राहकहरूलाई स्वागत, सत्कारमा एकदमै कमी छ ।
जापानमा मासिकरूपमा २, ३ लाख रुपैयाँ कमाउने नेपालीहरू छन् । जीवन के हो काम के हो भन्ने कुरा जापानमा बस्नेले सिकेका छन् । बाहिर बस्ने नेपालीहरूलाई स्वदेशमा लगानी गर्न राजन प्रेरित गर्नुहुन्छ । आफूले सिकेको सीप र आफूले आर्जेको पैसा स्वदेशमै लगानी गर्दा नेपालीहरूले रोजगारी पाउँछन्,’ उहाँ भन्नुहुन्छ, ‘मातृभूमिलाई योगदान पनि हुन्छ ।