काठमाडौँ, १५ माघ २०७८ । अहिले स्थानीय तहको निर्वाचन समयमा हुने कि नहुने भन्नेमा बहस चलिरहेको छ । संविधानको व्याख्या अनेक तरिकाबाट भइरहेका छन् ।
कसैले सार्न मिल्छ भनिरहेका छन्, कसैले मिल्दैन भनिरहेका छन् । यतिसम्मकी कानुनविद्हरुका समेत कुरा बाझिइरहेका छन् । सरकारले के गर्न थालेको हो ? तयारी के हो ? यस विषयमा हामीले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलसँग कुराकानी गरेका छौँ ।
उनले वर्तमान सरकार संविधान कार्यान्वयनको प्रक्रियामा रहेको भन्दै स्थानीय तहको निर्वाचन समयमै हुने हामीसँगको कुराकानीमा बताएका छन् । प्रस्तुत छ पौडेलसँग स्थानीय तह निर्वाचन र समसामयिक विषयमा गरिएको कुराकानीको सारसंक्षेप :
स्थानीय तहका पदाधिकारीको समयावधि सकिन लाग्यो । तर, सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन, कारण के हो ?
सरकार प्रक्रिया मिलाएर स्थानीय तहको निर्वाचन घोषणा गर्ने तयारीमा जुटिरहेको छ । सरकार संवैधानिक व्यवस्था अनुसार अगाडि बढ्छ ।
प्रधानमन्त्री ज्यूले राष्ट्रका नाममा संबोधनको क्रममा पनि एक वर्ष भित्र तिनै तहको निर्वाचन सम्पन्न गरिने बताउनु भएको छ ।
हामी संविधान कार्यान्वयनको प्रक्रियामा रहेका छौं । त्यसैले संवैधानिक व्यवस्था अनुसार निर्वाचन प्रक्रिया अगाडि बढ्छ र निर्वाचन हुन्छ, हुनुपर्छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस निर्वाचनबाट डराइरहेको आरोप प्रमुख प्रतिपक्षी एमालेले लगाइरहेको छ । यहाँहरु त्यही आरोपजस्तै निर्वाचनको मिति घोषणा गर्न डराइरहनु भएको छ ?
चुनावका लागि कांग्रेस डराउने कुनै कारण छैन । हामी निर्वाचनका लागि तम्तयार भएर बसेका छौँ । सरकारले प्रतिपक्षीले भनेको जस्तै घोषणा गरिहाल्ने होइन ।
प्रक्रिया पु¥याएर निर्वाचन घोषणा गर्ने तयारी गरिरहेको छ । ढुक्क हुनुस् हामी निर्वाचनकै पक्षमा छौँ, निर्वाचन नगर्ने पक्षमा छैनौँ ।
त्यसो भए स्थानीय तहको निर्वाचन कहिले गर्ने तयारी गरिरहनु भएको छ त ?
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको रिक्तता हुनुहँुदैन । स्थानीय तह रिक्त नहुनेगरि निर्वाचन समयमा नै सम्पन्न हुन्छ ।
त्यसका लागि सरकारले तयारी गरिरहेको छ । बरु निर्वाचन हुन्न भनेर बसिरहेका साथीहरुलाई मेरो आग्रह छ, निर्वाचनको तयारीमा जुट्नुस्, सरकारले मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।
वैशाखमा नै स्थानीय तहको निर्वाचन हुन्छ त ?
सबै तहको निर्वाचन एकैपटक हुनपनि सक्छ । तर, स्थानीय तहको रिक्त नहुने व्यवस्था भएको कारणले संवैधानिक व्यवस्था अनुरुप सबै कुरा हुन्छ । निर्वाचन हुने सन्दर्भमा राष्ट्रिय सहमति हुन आवस्यक रहेको छ । राष्ट्रिय सहमतिका साथ स्थानीय निर्वाचन समयमा नै हुन्छ ।
समय भनेको कहिले हो ? स्पष्ट बुझिने भाषामा भनिदिनुस् न ?
संवैधानिक व्यवस्था अनुरुप यसको रिक्तताको कुनै संभावना रहेको छैन् । वैशाख भित्र नै स्थानीय तहको निर्वाचन गर्ने जुन व्यवस्था छ । त्यसअनुसार निर्वाचान गर्नुपर्ने आवस्यकता छ ।
मैले अगाडी पनि भने हामी संविधान कार्यान्वयनको प्रक्रियामा अगाडी बढेका छौं । हामी प्रारम्भमा रहेका छौं । अहिलेको अवस्यामा स्थानीय तहको निर्वाचन समयमा नभएपछि प्रारम्भमा नै त्रुटि जस्तो देखिन्छ ।
त्यसकारणले सबै तहको निर्वाचन गर्नसक्ने अवस्था भयो भने त्यो पनि संभावना हुनसक्छ । त्यसो हुन सकेन भनेपनि स्थानीय तहको निर्वाचन वैशाखमा हुनुपर्छ ।
० सबै निर्वाचन एकै पटक गर्ने कुरा पनि आएको छ, त्यसबारे पनि छलफल चलेको हो ?
हामी संसद् पूर्ण अवधि चल्नुपर्छ भन्ने पक्षमा छ । हिजो केपी शर्मा ओलीले संसद् विघटन गरेको अवस्थामा त्यसो गर्नु हुँदैन् । संसद् पूर्ण अवधि चल्न नदिएर बिघटन गरे पुनः अस्थिरता निम्तिन सक्न भनेर हामीले भनेका हौ । त्यसका कारण संसदको पूर्ण अवधि जति छ ।
त्यो पुर्ण रुपमा चल्न दिनुपर्छ भन्ने नेपाली काँग्रेसको धारणा हो । तर, अहिलेको अवस्थामा जुन प्रकारले संसदमा ताला लाएजसरि अवरुद्ध गरिदै आएको छ, यो चाही असाधै गैरजिम्मेवारपूर्ण व्यवहार हो । संसद नै चल्न नदिने, संसदबाट समस्याको समाधान खोज्ने यो व्यवस्थाको मुख्य विषय हो ।
हुन त केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा दुईपटक संसद विघटन गर्नुभएको हो । त्यसैले उहाँ संसदको निरन्तरताको पक्षमा हुनुहुँदैन् ।
तर, पनि हाम्रो आग्रह के हो भने संसदलाई पूर्ण अवधि चल्न दिएर सबै समस्याको हल संसदबाट खोलिनुपर्छ । स्थानीय तह सम्बन्धको विषयमा पनि संसदमा छलफल गर्न जरुरी छ ।
निर्वाचनबारे संवैधानीक संकट भएका कुराहरु पनि बाहिर आएका छन्, त्यसबारे के गर्ने तयारी छ ?
प्रमुख प्रतिपक्षी एमालेले संसद् नै चल्न नदिने काम गरिरहेको छ । मुलुकमा जल्दाबल्दा धेरै विषयहरु छन् । संसदमा छलफल गरेर अगाडी बढ्नुपर्ने ठाउँमा संसदनै बन्द गर्ने हो त ? असहमतिहरु हुन्छन् ।
आफ्नो पक्षबाट कुनैपनि विषयमा सहि र गलत भनेर छलफल गर्न सकिन्छ । तर, ति असहमतिलाई सहमतिमा पुर्याउने हो । संसद चल्न नदिने कुरा पूर्णरुपमा गलत रहेको छ । त्यसैले संसद सञ्चालन गर्ने र राष्ट्रिय सहमति अनुसार स्थानीय तहको निर्वाचन गर्नु आजको अवस्यकता हो ।
गठबन्धन सरकारले नै संविधान मिच्ने प्रयास गरिरहेको आरोप लागिरहेको छ नी ?
अहिले निर्णय नै भएको छैन् । संविधान मिच्यो भनेर कसरी भन्न सक्नुहुन्छ ? त्यो त छलफल मात्र भएको विषय हो ।
एकैपटक तीन तहको निर्वाचन गर्ने भनेको त संविधान मिच्ने होइन ?
हामीले अहिलेको अवस्थामा के गर्दा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं । कुनै पनि निर्णय गरिसकेका छैनौं । हामीले संविधान भन्दा बाहिर नगएर राष्ट्रिय सहमतिको आधारमा काम गर्नेछौँ ।
प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको छ महिने कार्यकाल कस्तो रहेको तपाईले पाउनुभयो ?
हामी कुनैपनि सरकारसँग सन्तुष्ट हुने स्थिति रहेको छैन् । तर, अघिल्लो सरकारले जुन विरासत छोडेको थियो । जुन खालको भद्रगोल अवस्था रहेको थियो । यो छ महिनाको बिचमा नेपाली काँग्रेसको आन्तरिक अधिवेशन पनि भएको स्थिति हो ।
कोभिड पनि बढेको अवस्था रहेको छ । यस्तो सबै कुराको विश्लेषण गर्दा छ महिनामा सरकार असफल भयो भन्ने स्थिति छैन् । तर, जुन खालको अपेक्षा गरिएको थियो । त्यस अनुसार भएको पाइदैन् ।
अब प्रधानमन्त्री ज्यू सरकारको प्रभावकारिता अगाडी बढाउने कार्यमा अगाडी बढ्नुहुन्छ । हिजो उहाँले प्रस्तुत गरेका कुराहरु तथ्यगत रहेका छन् ।
कोभिडको खोप सबै नेपाली जनतामा पुर्याउने काम सरकारको हो । त्यो काम सरकारले चाँडो गर्नेछ । त्यसैले मलाई लाग्छ आगामी दिनमा सरकारको प्रभावकारिता थप बढ्नेछ । अभियान टाइम्सका साथमा ।









































