भैरहवा, माघ ९ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा सभा सम्मेलन र ध्यान गर्न अब समस्या नहुने भएको छ । पाँच हजार मानिस अट्न सक्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त सभाहल र ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ ।
“अब ध्यान केन्द्रमा ल्यान्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ । त्यो काम पनि चालु छ । त्यस्तै झ्याल, ढोका लगाउने काम पनि जारी छ”, कोषका योजना प्रमुख सरोज भट्टराईले भन्नुभयो, “आगामी बुद्ध जयन्तीका दिन उद्घाटन हुनेछ । ”
लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो ।
- ADVERTISEMENT -
२०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो । निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि २०७७ असोजसम्मको समय थप गरिएको थियो तर सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको वरिष्ठ इन्जिनियरसमेत रहनुभएका योजना प्रमुख भट्टराईले भन्नुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएपछि २०७९ असार मसान्तसम्म समय थप गरिएको हो ।
सम्मेलन केन्द्रको भवन मात्रै निर्माण गर्ने सुरुवाती योजना रहेकोमा पछि विभिन्न संरचना थप गरिएको थियो । पहिलो चरणमा निर्माण थालिएको पाँच हजार मानिस अट्ने सम्मेलन केन्द्रको निर्माण सकिएको इन्जिनियर भट्टराईले बताउनुभयो । २०७७ पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम भने आगामी असारसम्म पूरा हुने छ । दोस्रो चरणको काम करिब ५० प्रतिशत सकिएको भट्टराईको भनाइ छ । चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको पहिलो चरणको कामका लागि ३३ करोड रुपियाँ खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ । दोस्रो चरणमा पनि २७ करोड बराबरका संरचना निर्माण हुने छन् ।