पुस ३०, गोरखा
ऋषि खनाल/गोरखा : भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि गोरखा जिल्ला भिमसेनथापा गाँउपालिका ३ नं वडाका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि ज्येष्ठ नागरिक चिन्तित भएका हुन् ।
मौलिक संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तितसमेत बन्न थालेको भिमसेनथापा गाँउपालिका ३ का ७० वर्षीय तेज प्रसाद खनालले बताउनुभयो । “धेरै भो मध्यरातमा शङ्ख फुकेको सुनिन छाडिएको, धेरै भो घरआँगनमा बालन गीत गाउन छोडिएको र धेरै भो भजन चुट्काको आवाज गुञ्जिन छोडेको”, उहाँले भन्नुभयो । यसको संरक्षणको लागि युवापुस्ताले तदारुकता देखाउनुपर्ने उहाँको भनाइ छ ।
नेपाली समाज आफ्नै संस्कार र शैलीका कारण धनी छ तर अब समाजसँग जोडिएका यस्ता सम्पत्ति विलिन हुन थालेको उहाँको अनुभव छ । “बूढापाका सुस्ताउने चौतारा, साँझ बिहान भजन गुञ्जिने पाटीपौवा भेटिन छाडिसके”, उहाँले भन्नुभयो । पूजापाठ तथा धार्मिक कार्यक्रममा भजन, चुड्का, बालन गाउने र विभिन्न किसिमका नृत्य प्रदर्शन गर्ने चलन धेरै पहिलेदेखि चल्दै आइरहेको पाइन्छ तर पछिल्लो समय गोरखाका गाउँघरमा यो संस्कृति ओझेलमा पर्नुका साथै विस्तारै लोप हुने स्थितिमा पुगेको देखिन्छ ।
- ADVERTISEMENT -
यस्तै संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले भिमसेनथापा ३ का ज्येष्ठ नागरिक मिलेर भजन गाउने र पौराणिक पात्रको कथा सुन्ने अवसरको व्यवस्था गरिएको छ । भजनकीर्तनको संरक्षण गर्नका लागि सिद्धकाली भजन समुहसमेत गठन गरिएको छ । समाजबाट मूल्यमान्यता हराउन नदिन उनीहरुले चालेको कदम अनुकरणीय रहेको छ ।
शिवरात्रि, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पूजालगायत धार्मिक उत्सवमा आयोजना गरिने भजनकीर्तनबाट पुण्य मिल्ने को विश्वास छ । भजनकीर्तनमा पौराणिक कथाका पात्रको महिमा तथा चरित्र वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ । उहाँले भन्नुभयो, “भजनकीर्तन भनिने कुरा हराएर, अहिलेको समयमा आधुनिक गीतका दोहोरी मात्र गाउने गरेको भेटिन्छ ।”
अहिलेका युवापुस्तालाई खासै भजनकीर्तनमा चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको छ । देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृति नै लोप हुने हो कि भन्ने चिन्ता रहेको सिद्धकाली भजन समुहका अध्यक्ष शिव प्रसाद बञ्जाराले बताउनुभयो । वरपर छरछिमेकका मानिस जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःखसमेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने उहाँले बताउनुभयो ।
पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहमा पनि भजन संस्कृतिका झलक देखाउने गरिएको छ । भजनकीर्तनमा शिव महिमा, बालन, महाभारतजस्ता धार्मिक कथालाई गीतका रूपमा गाइन्छ । सृष्टिदेखिका भगवान्का लीला र अवतारको वर्णन भजनमा प्रस्तुत गर्ने गरिन्छन् ।
देवीदेवताको गुणगानमा केन्द्रित भजनकीर्तनको रौनकले थकाइबिना रात र दिन सजिलै बिताउने गरेको ज्येष्ठ नागरिकको अनुभव छ । जनसंस्कृतिलाई लोकसाहित्यको एउटा महत्वपूर्ण पक्ष मानिने भएकाले यसको संरक्षण गर्न भजन समुहगठन गरिएको समितिका अध्यक्ष बञ्नाराले बताउनुभयो । बाबुबाजेको पालादेखि चल्दै आएको भजन संस्कृति धर्मशास्त्रमा आधारित भएको र धार्मिक महत्व रहेकाले यसको संरक्षणका लागि विशेष चासो दिनुपर्ने सरोकारपक्ष बताउँछन् ।