काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा गरेका छन् । ३००औँ पृथ्वी जयन्तीको अवसरमा मंगलबार सिंहदरबार पुगेर पूर्वराजाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि थापाले ‘सुनमा सुगन्ध’ थपिएको भन्दै प्रशंसा गरेका हुन् ।
‘पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु, नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ। यो परम्परा निरन्तर कायम रहोस्। राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको छ।
आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो।’ थापाले ट्विट गर्दै भने । पृथ्वी जयन्तीमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएको भन्दै त्यो ‘ठिक नलागेको’ थापाले बताए ।
मंगलबार पूर्वराजा ज्ञानेन्द्र समर्थकहरुसहित सिंहदरबार पुगेका थिए भने त्योभन्दा केहिबेर अघि कमल थापा माल्यार्पण गर्न त्यहाँ पुगेका थिए । राप्रपा अध्यक्षको चुनावमा हार व्यहोरेपछि केहि हप्तासम्म थापा पूर्वराजामाथि विभिन्न आरोप लगाइरहेका थिए । तर, आज भने थापाले उनको प्रशंसा गरेका हुन् ।