काठमाडौं, शनिबार, २४ पौष २०७८ । कोरोना भाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।
संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी) ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लाग्नु भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्लाहरुको संयुक्त बैठक बस्नुअघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्नु हुनेछ ।
आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ ।
त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् । सोमबारभित्र बस्ने तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रलाई नियन्त्रण गर्नेतर्फ निर्णय गर्ने काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले बताउनु भयो ।
एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताउनु भयो । ‘पहिले हामी जिल्लाभित्रको परिस्थितीबारे समीक्षा गर्छौं र तीनै सीडीओबीच भीडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्नेबारे टुंगो लाग्छ’ उहाँले भन्नुभयो ।
भक्तपुरकी सीडीओ रुद्रादेवी शर्माले संक्रमण ह्वात्तै बढेपछि भीडभाडजन्य गतिविधिमा रोक लगाउने तयारी भैरहेको बताउनु भयो । ‘भोलिको सीसीएमसी बैठकमा हामीले खोपलाई तीव्रता दिने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्नेदेखि नाकामा कडाइ गर्नेसम्मको छलफल गर्नेछौं’ , ‘साथै, भीडभाड हुने क्षेत्रलाई रोक्नेबारे निर्णय हुन्छ ।’ उहाँले भन्नुभयो ।
शुक्रबारको सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताउनु भयो ।उहाँले भीडभाड हुने क्षेत्रहरु समेत बन्द गर्न सकिने बताउनु भयो ।
शुक्रबार देशभर ९६८ जनामा संक्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकामा ३६९ जना संक्रमित थपिएका छन् । अहिलेसम्म नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।








































