आज अंग्रेजी नयाँ वर्ष अर्थात् सन् २०२२ को पहिलो दिन । तर पछिल्लो केही वर्षयता यो दिन नयाँ वर्षभन्दा पनि बढी नेपाली टोपीले सामाजिक सञ्जाल भरिभराउ हुन्छन् ।
के महिला के पुरुष, बालबालिकादेखि उमेर ढल्केकाहरु समेतले नेपाली ढाका या भातगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा फोटोहरु अपलोड गरिरहेका हुन्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत र अन्य सामाजिक सञ्जाल सबै टोपीमय भएको देख्न सकिन्छ ।
घरमा टोपी नभएका र टोपी लगाएको फोटो नहुनेहरु पनि हतार हतार साथीसँग नभए किनेरै भए पनि टोपीसहितको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्न हतार देखिन्छन् ।
झट्ट हेर्दा देखासिकी र फेसनजस्तो लागे पनि नेपाली टोपीको प्रचार र महत्व भने झल्केको छ । यसले नयाँ पुस्तालाई समेत नेपाली टोपीप्रति आकर्षित र लगाउनुपर्छ भन्ने कुरामा सचेत समेत गराएको छ ।
विशेषतः ढाकाटोपीलाई नेपालको चिनारीका लिइन्छ । यसको आफ्नै मौलिक पहिचान र महत्व छ ।
संस्कृतविदका अनुसार यो टोपीको डिजाइन नेपालमै भएको । जंगबहादुर राणाका पालामा उनका बहिनी डम्बरकुरमारी राणाले आफ्नो दाजुलाई खुसी पार्नका लागि यो टोपी बनाएर उपहार दिएको बताइन्छ ।
ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको छ भने बीचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ । यसर्थ पनि यी टोपीहरुको महत्व धेरै छ ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।








































