काठमाडौं – नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अलमलमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउन जोड गरेपनि सत्ता गठबन्धनको मूख्य दल मानिएको नेकपा माओवादी केन्द्रमा यसबारे सहमती हुने सम्भावना कम देखिएको छ ।
कांग्रेसको सभापति समेत रहेका देउवाले गठबन्धन दललाई मनाएर मात्र एमसीसी प्रक्रिया अघि बढाउने बताए पनि अहिले माओवादीभित्र यसको विरोध गरिएको छ । माओवादीको आठौं राष्ट्रिय महाधिवेशनमा एमसीसीको विपक्षमा मत बलियो देखिएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङको विधान मस्यौदामाथि विभिन्न २५ वटा समूहमा छलफल भइरहेको छ । धेरै समूहले एमसीसी नेपालको हितमा नरहेको निष्कर्ष निकालेका छन् ।
समूहरुले एमसीसी फिर्ता नै जानुपर्ने विषयमा आफ्नो कुराहरु राखेका छन् । प्रचण्डले एमसीसी संशोधन भएमात्रै पारित हुन सक्ने कुरा राखे पनि अन्य नेताहरुले भने यस बिषयमा फरक कुराहरु राखे ।
- ADVERTISEMENT -
यसअघि सत्ता गठबन्धनका दलबीच भएको बैठकमा पनि माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसाल पनि एमसीसीको विरोध गरेका थिए ।
आफ्ना नेताहरुले नै एमसीसीको विरोध गरिरहदा अब प्रचण्डले देउवासँग कसरी यस बिषयमा सहमती जनाउछन् भन्ने हेर्न बाकीँ छ । यो सबै हेर्दा एमसीसी सम्झौता अघि बढाउने बिषयमा देउवा गठबन्धन दलहरुलाई मनाउन नसक्ने पनि देखिन्छ ।