काठमाडौं- राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।
चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।
आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- ADVERTISEMENT -
काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।
हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध
यसैबीच त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ ।
गए रातिदेखि बाक्लो हिउँ परेपछि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।
पर्वतारोहण र हवाई यातायात प्रभावित हुनसक्नेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।-
नेपाल टेलिभिजन