मौसममा बदली भई चिसो बढेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । आइतबारदेखि भएको मौसम बदलीका कारण कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पामा हिमपात भएको छ भने जुम्ला, मुगुको उच्च भूभागमा हिमपात भएको छ । हिमपातसँंगै मौसम खराबीले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
हिमपातसँंगै हुम्लाको न्यूनतम तापक्रम माइनस ११ डिग्री पुगेको छ । हुम्लामा तीन फिट हिउँ झमेपछि सर्वसाधारणलाई ओहोरदोहोर र दैनिक उपभोग्य सामान किन्न पनि मुस्किल भएको हुम्लाका सञ्चारकर्मी दाने बोहोरा बताउँछन् । यता जुम्लाको तापक्रम माइनस ७ डिग्री छ । हिमपात वर्षाले कृषिमा फाइदा गरे पनि जनजीवन भने कष्टकर भएको छ ।
चिसो बढेपछि बजारका चोकचोकमा आगो ताप्ने गरेको देखिन्छ ।
चिसोले दमका विरामी, वृद्धवृद्धा, बालबालिकालाई प्रत्यक्ष असर पर्ने भएकाले सुरक्षित रहन चिकित्सकले सुझाव दिएका छन् । अत्यावश्यक कामबाहेक बाहिर नजान र झोलिलो पदार्थ खानु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले बताएका छन् ।
यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले हिउँदेबालीको उत्पादन वृद्धिका लागि हिमपात अनिवार्य रहेको बताए । यद्यपि जुम्लाको बेसी क्षेत्रमा बाक्लो हिमपात भएको छैन । उनले भने, “कृषि क्षेत्रका लागि हिमपात हुनु राम्रो हो । तर हिउँ पर्नु पहिले हुने अत्यधिक चिसोले मुख धुन, नुहाउन, कपडा धुन सरसफाइ गर्नमा समेत असर गरेको छ ।”
चिसो बढ्दै गएपछि जुम्ला, हुम्ला, मुगु, डोल्पा र हुम्लाका अधिकांश गाउँ खाली गरेर तराई झरेका छन् । तर घर कुरेका बुढापाका, बालबालिका भने चिसोबाट बढी प्रभावित भएका छन् ।
चिसोले उपभोक्ताको पहलपहल हुन छोडेपछि व्यापार पनि घट्दै गएको व्यापारी बताउँछन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले विगतकै जस्तो न्यानो प्रदानका लागि पुस र माघ महिना बजारका चोकचोकमा आगो बाल्ने अभियान पनि सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंले जुम्ला सदरमुकामको एयरपोर्ट, कालिकोखोली चोक, बालमन्दिर, बसपार्क, भारतीबाडा, जिप्रकालगायतका स्थानमा आम सर्वसाधारणका लागि आगो बालिने बताइन् ।
- ADVERTISEMENT -
यसका साथै सडक मानव, गरिब विपन्नका राहतका लागि न्यानो कम्बल वितरण कार्यक्रम पनि सुरु गरिने उल्लेख गरिन् । चिसो बढ्दै गएकोले स्थानीयलाई अत्यावश्यक कामबाहेक बाहिर नआउन पनि उनले आग्रह गरेकी छन् ।