काठमाडौं, १३ पौष २०७८ । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु भएको छ । स्मार्ट कार्डको अभावमा डेढ वर्षदेखि बन्द रहेको लाइसेन्स छपाइ पुन: सुरु भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दैनिक १० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जानकारी दिए । उनकाअनुसार नवीकरण गर्ने सेवाग्राहीहरूलाई १० दिनमै लाइसेन्स उपलब्ध गराइनेछ ।
‘‘पहिलो चरणमा पुराना सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराइनेछ । दोस्रो चरणमा अन्य सेवाग्राहीलाई प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइनेछ,” महानिर्देशक घिमिरेले भने, ‘‘लाइसेन्स छाप्नको लागि स्मार्टकार्ड र प्रिन्टिङ मेसिन चाहिन्छ । विभागमा यी साधनको अभाव छैन । पहिला स्मार्टकार्डको अभावमा समस्या आएको थियो । अब वितरणमा समस्या आउँदैन ।”
विभागले लाइसेन्स यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमै छापेर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइने जनाएको छ । सुरुमा काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सेवाग्राहीहरूलाई लाइसेन्स वितरण थालिने छ ।उपत्यका बाहिरका यातायात कार्यालयहरूमा वितरण गर्न केही समय लाग्ने जनाइएको छ ।
- ADVERTISEMENT -
विभागले लाइसेन्स छापेर देशभरका २१ वटा यातायात कार्यालयहरूमा पठाएर सजिलै वितरण गर्ने जनाएको छ । त्यसपछि यातायात कार्यालयहरूले सम्बन्धित सवारी धनीलाई वितरण गर्नेछन् ।