काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदको अवरोध हटाउन सर्वदलीय बैठकले आह्वान गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सर्वदलीय बैठकले आफ्ना सहमति प्रकट गर्ने नाममा जननिर्वाचित संसदलाई बन्धन नबनाउन एमालेलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनु भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकको निर्णय सुनाउँदै भन्नुभयो, ‘विरोध गर्ने र असहमति प्रकट गर्ने मूल थलो संसद नै हो तर जननिर्वाचित संस्थालाई लामो समय बन्धक बनाउनु उचित नहुने बैठकको निष्कर्ष हो । उहाँले भन्नुभयो, ‘प्रतिपक्षले उठाएको विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार छ ।’
एमाले केन्द्रीय समितिले आफ्ना सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै लगातार संसद अवरोध गरिरहेको छ ।
राष्ट्रिय मुद्दालगायत एमसीसीबारे साझा धारणा बनाउने प्रयासस्वरुप यसअघि सत्ता साझेदारको बैठक बसेको थियो ।
त्यसपछि बसेको सर्वदलीय बैठकमा एमाले भने सहभागि भएन ।
सर्वदलीय बैठकमा कांग्रेस बाहेकका सबै दलले एमसीसीको विपक्षमा आफ्नो धारणा राखेको बैठकपछि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताउनु भयो ।
संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसबाहेकका दलहरुले एमसीसी हुबहु पारित गर्न नसकिने धारणा राखेको बैठक पछि सुवालले बताउनु भयो ।








































