काठमाडौं, २८ मंसिर २०७८ । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सम्पन्न मतदानपछि पहिलो चरणको मतगणना सुरु भएको छ ।
पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी राष्ट्रिय सभागृहमा ल्याएर अहिले मतगणना सुरु गरिएको छ ।
- ADVERTISEMENT -
मतदान सम्पन्न भएपछि निर्वाचन समितिको बैठकले पहिलो चरणमा सभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ ।
मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार मंगलबार बिहानसम्म सभापतिको मतगणना सम्पन्न हुनेछ ।
सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्यांकी सोमबार मध्यरातमै पार्टी कार्यालय सानेपा लगिएको छ ।
शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका निर्णायक हुनेमा आशावादी छन् ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।