काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गतको मतदानको समय पुनः थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको हाे ।
कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ ।
निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसालेका थिए । एक जना प्रतिनिधिलाई मतदान गर्न आधा घण्टा बढी समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।
- ADVERTISEMENT -