काठमाडौं, आइतबार, २६ मङ्सिर २०७८ । १४ औं महाधिवेशनको निर्णायक मोडमा आइपुग्दा नेपाली कांग्रेसको आन्तरिक शक्ति समूहमा व्यापक फेरबदल देखिएको छ । लामो समयदेखि एकैठाउँमा भएका नेताहरू कोही छुट्टै समूह बनाएर प्रतिस्पर्धामा होमिन लागेका छन् भने कोही एकअर्कामा समाहित भएका छन् । सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन समूह पनि एकढिक्का देखिएन भने रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन इतर समूह पनि तितरवितर भएको छ ।
विगत लामो समयदेखि देउवालाई साथ दिँदै आउनुभएका विमलेन्द्र निधिले त्यहाँबाट विद्रोह गरी यसअघिकै घोषणा अनुसार शनिबार सभापति पदका लागि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । यद्यपि उहाँले निर्वाचनका लागि आफ्नो टिम भने बनाउनुभएको छैन । संस्थापन इतर समूहको नेतृत्व गर्दै आउनुभएका पुराना र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै समूहमा सर्वसम्मत बन्न नसकेपछि अन्ततः सभापतिको दौडबाटै बाहिरिनुभएको छ । अर्कोतिर पार्टीका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले पनि अन्तिम समयमा देउवाको साथ छोड्नुभएको छ । देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार बन्न असफल भएपछि उहाँ बाध्य भएर सो समूहबाट अलग भई प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएको छ । अघिल्लो महाधिवेशनमा सभापति पदका उम्मेदवार बन्नुभएका कृष्ण सिटौलाले देउवालाई समर्थन गर्नुभएको छ । आफ्नो समूहका युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा उभ्याउने शर्तमा उहाँले देउवालाई समर्थन जनाउनुभएको छ । यता, संस्थापनइतर समूह अन्तिम समयसम्म निकै कसरत गर्दा पनि सर्वसम्मत सभापति चयन गर्न नसकेपछि आफै विग्रह भएको छ । यस समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका उम्मेदवार बन्नुभएको छ । शेखर कोइरालाले पदाधिकारीमा पूरा प्यानलसहित उम्मेदवारी दिनुभएको हो ।
देउवा, कोइराला र सिंहको छुट्टाछुट्टै प्यानल
कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाको उम्मेदवारी परेको छ । दुई उपसभापतिका लागि सात जनाको उम्मेदवारी परेको छ । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
- ADVERTISEMENT -
सभापतिमा देउवासँग प्रतिस्पर्धा गर्न शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीसहितको समूह बनाएर उम्मेदवारी दिनुभएको छ । कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिनुभएको छ ।
महामन्त्रीमा देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । कोइराला प्यानलबाट मीनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । त्यस्तै सिंहको प्यालनबाट विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिनुभएको छ । निधिको प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिनुभएको छ । उपसभापतिमा देउवा प्यानलबाट विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । कोइराला प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीको उम्मेदवारी परेको छ । सिंहको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्नुभएको छ । निधिको प्यानलबाट दिव्येश्वरी शाह पनि उम्मेदवार बन्नुभएको छ । उपसभापतिमा महेश आचार्यले पनि उम्मेदवारी दिनुभएको छ ।
पार्टी प्रतिस्पर्धामा पौडेलको पूर्णविराम
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ । नेतृत्व परिवर्तनमा जोड दिँदै आउनुभएका पौडेलले इतर पक्षबाट साझा उम्मेदवार तय नभएपछि एक विज्ञप्ति जारी गर्दै आफू नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्नुभएको हो । ‘पार्टीभित्र अहिले जुन परिस्थिति निर्माण भइरहेको छ, त्यो सन्दर्भमा मैले १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको छु,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट मात्र गर्ने थलो होइन, यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक हुन्छ ।’
पौडेलले पछिल्लो समय कांग्रेसमा विचलन आइरहेको भन्दै संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिनुभएका पौडेल मतदान प्रक्रियामा वपन सहभागी नहुने हुनुभएको छ । पौडेलका प्रेस सहयोगी खिला कार्कीका अनुसार यो निर्णयसँगै उहाँ महाधिवेशनका कुनै गतिविधिमा संलग्न हुनुहुने छैन ।
पौडेलनिकट एक सहयोगीका अनुसार उहाँले अब नयाँ नेतृत्वका लागि हुने प्रतिस्पर्धाका क्रममा आफ्नै समूहका डा. शेखर कोइरालालाई सघाउने मनस्थिति बनाउनुभएको छ । पौडेलले पटक–पटकको वार्ताबाट पनि आफ्नै समूहका प्रकाशमान सिंह सहमतिमा आउन नमानेको निष्कर्ष पनि निकाल्नु्भएको छ । सहमति गर्न खोज्दा खोज्दै आफ्नै समूहबाट विद्रोह गरेर सिंहले छुट्टै टीम खडा गरेको पौडेलले निचोड निकाल्नुभएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले आइतवार बिहानसम्म कसलाई सघाउने भन्ने ठोस निर्णय हुने जानकारी दिनुभयो ।
आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन मेरो उम्मेदवारी : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार्टीको बहुमत आउने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु ।’
सभापतिका प्रत्यासी शेखर कोइरालाले संघीय संसद् नचलेको, न्यायपालिकाको अवस्था राम्रो नरहेको तथा मुलुकको आर्थिक अवस्था पनि बेहाल रहेकाले आफ्नो नेतृत्वमा बनेको समूहले देशको परिस्थिति र पार्टी भित्रको अवस्थालाई सुधार गर्न नयाँ सोच र विचारका साथ कार्यक्रम लिएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाकाहरूका होस् र युवाका जोसका आधारमा नेपाली कांग्रेसलाई अघि बढाउँछौं ।’ सभापतिका अर्का प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले अवधारणामार्फत सभापतिमा आफ्नो उम्मेदवारी किन भन्ने यसअघि नै जानकारी गराइसकेको बताउनुभयो । ‘देशभरकै महाधिवेशन प्रतिनिधिले तपाईँले महामन्त्री र उपसभापति भएर इतिहास रचिसक्नुभएको छ । यसपटक स्वाभाविक सभापतिको उम्मेदवार हुनुपर्छ भनेकाले उम्मेदवारी दिएको हुँ’, उहाँले भन्नुभयोे ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूले पार्टी सभापति देउवा र उहाँको टिमलाई सहयोग र समर्थन रहेको जानकारी दिनुभयो । उहाँले पदभन्दा बाहिर रहेर पनि कांग्रेसलाई सहयोग गर्न सकिन्छ भन्ने मान्यता अनुरुप उम्मेदवारी नदिएको बताउँदै कांग्रेसमार्फत सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री देउवालाई पुनःपार्टी सभापतिमा निरन्तरता दिने अभियानमा आफूहरू रहेको प्रतिक्रिया दिनुभयो । उपसभापतिका प्रत्यासी सुजाता कोइरालाले राजनीति विचार र सिद्धान्तका आधारमा अघि बढ्ने भएकाले महिलाको नेतृत्व स्थापित गर्ने सन्दर्भमा आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तो बन्यो देउवा प्यानल
पाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो पक्षको पदाधिकारीको उम्मेदवार टुंगो लगाउनभुएको छ । उहाँको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बन्नुभएको छ । सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे (पाँचथर), दलितबाट मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीबाट महेन्द्र यादव (धनुषा), खस आर्यबाट किशोरसिंह राठौर (बर्दिया), थारुबाट उमाकान्त चौधरी (बारा), मुस्लिमबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) उम्मेदवार बन्नुभएको छ ।
यस्तो छ शेखर कोइरालाको प्यानल
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिनुभएको छ । रामचन्द्र पोडेल समूहबाट कोइरालासँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ । तर पौडेल समूहका बहुसंख्यक नेताहरु शेखरको टिममा अटाएका छन् । कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा हुनुहुन्छ । आठ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र पिछडिएको क्षेत्रबाट बद्री पाण्डेले उम्मेदवारी दिनुभएको छ ।
पौडेल र शशांकको समर्थन शेखरलाई
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले डा.शेखर कोइरालाको प्यानललाई समर्थन गर्नुभएको छ । शेखरको नेतृत्वमा बनेको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । सभापतिको उम्मेद्वार दावी गर्दै आएका बीपी पुत्र शशांकले यसअघि नै शेखरलाई साथ दिने संकेत गर्नुभएको थियो । तर सभापतिको साझा उम्मेद्वार बनाउने प्रयत्न भइरहँदा शशांक प्रष्ट बोल्नुभएको थिएन । संस्थापन इतर समूहबाट शेखर र प्रकाशमान सिंह दुवै सभापतिको उम्मेद्वार बन्ने भएपछि शशांकले शेखरलाई समर्थन गर्नुभएको हो । वरिष्ठ नेता पौडेलले पनि शेखरलाई समर्थन गर्नुभएको छ । पौडेल निकट नेताहरुलाई पदाधिकारीमा समेट्दै शेखरले प्यानल बनाउनुभएको छ ।
१३४ पदमा ५४८ जनाको उम्मेदवारी
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिबार ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । एक जना सभापतिकालागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीकालागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, सह-महामन्त्री खसआर्य, महिला, दलित, जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट गरी जम्मा ८ पदमा २० जनाको उम्मेदवारी परेको छ ।
संस्थापनबाट विश्वप्रकाशको विद्रोह
नेपाली कांग्रेसको संस्थापन समूहमा दुई महामन्त्रीका लागि बालकृण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद दावेदार हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमेत रहनुभएका सभापतिका उम्मेदवार देउवाले आफ्नो महामन्त्रीको उम्मेदवारका रुपमा महत र प्रदीप पौडेललाई छनोट गर्नुभयो । पौडेल, कृष्णप्रसाद सिटौला समूहका हुनुहुन्छ । सिटौलाले सभापतिमा उम्मेदवारी नदिई आफूलाई समर्थन गरेपछि देउवाले पौडेललाई महामन्त्रीका रूपमा सार्नुभयो । झन्डैै चार वर्ष देउवाको टिममा बसेर काम गर्नुभएका विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन चाहनुभएको थियो । तर, महामन्त्रीमा प्रदीप पौडेललाई अघि सारेपछि शर्माले देउवा टिमबाट विद्रोह गर्नुभएको हो । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले उहाँलाई अर्का युवा नेता गगनकुमार थापासँगै महामन्त्री बनाउन चाहनुभएको थियो । तर आफ्नो टिम व्यवस्थापन गर्न नसकेपछि गगनसँगै डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउनुभयो । शर्मालाई सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि महामन्त्रीको उम्मेदवार बनाउन चाहनुभएको थियो । तर युवा नेता शर्माको रोजाइमा प्रकाशमान सिंह पर्नुभयोे, जसले रामचन्द्र पौडेल समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवार दिनुभएको छ ।