काठमाडौँ, शनिबार, २५ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच सहकार्य गर्ने सहमति जुटेको छ । देउवा–सिटौलाले महाधिवेशन उद्घाटन गर्नुभन्दा अघि नै बालुवाटारमा बसेर गरेको सहमति शुक्रबार साँझ बाहिरिएको हो ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरूलाई बोलाएर सहमतिबारे जानकारी गराएका थिए । सहमति अनुसार देउवाको टिमबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ ।
देउवाले आफ्नो समूहका चार जना आकांक्षीलाई छाडेर सिटौलानिकट पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने भएका हुन् । सहमति अनुसार अब सभापतिमा सिटौलाले देउवालाई सघाउने छन् ।
- ADVERTISEMENT -
सिटौला भने कुनै पनि पदमा उम्मेदवार नबन्ने स्रोतको भनाइ छ । त्यस्तै, देउवाकै टिमबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी पनि सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । महाधिवेशन उद्घाटन अगावै देउवा–सिटौलाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।