काठमाडौं, बुधबार, २२ मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बन्ने पक्का भएको छ । रक्षामन्त्री समेत रहनु भएका डा. मिनेन्द्र रिजालले पार्टीलाई वैचारिक र सांगठनिक दुवै हिसाबले सशक्त बनाउन आफू महामन्त्रीको उम्मेदवार बन्ने बताउनु भयो ।

संस्थापनइतर समूह यतिबेला सभापतिको साझा उम्मेदवार बनाउन निरन्तर छलफलमा रहेको छ । सभापतिमा साझा उम्मेदवार चयन हुनासाथ महामन्त्रीका रुपमा आफ्नो उम्मेदवारी स्वतः सार्वजनिक हुने उहाँको भनाई छ ।

‘म महामन्त्रीको स्वभाविक उम्मेदवार हुँ । यतिबेला हाम्रो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयत्नमा छौं । साझा उम्मेदवारको टुंगोसँगै महामन्त्रीमा मेरो उम्मेदवारी औपचारिक हुनेछ’, डा. मिनेन्द्र रिजालले भन्नुभयो ।

पार्टीभित्र आफूले गरेको काम र अनुभवकै आधारमा महामन्त्रीको उम्मेदवार बन्न लागेको बताउदै ‘पार्टीका लागि होस वा मुलुकका लागि मैले इमान्दारिताका साथ काम गरेको छु । १४ औं महाधिवेशनमा महामन्त्रीका लागि मेरो उम्मेदवारी रहन्छ’, डा. मिनेन्द्र रिजालले भन्नुभयो ।

उहाँले पार्टीलाई एकतावद्ध र विपक्षीसँग खरो उत्रनसक्ने संगठनका रुपमा लैजानुपर्ने बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्