काठमाडौं, बुधबार, १७ कात्तिक २०७८ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा डा. बलराम पाठक नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डा. पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनियुक्त अध्यक्ष डा. पाठकले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
डा. पाठकले अर्थशास्त्र विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकका रूपमा कार्य गरेको अनुभव छ । डा. पाठक हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन पेशामा आबद्ध हुनुहुन्छ ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम तिम्सिना ढुंगाना तथा बमबहादुर मिश्रलगायत उच्च पदाधिकारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कम्पनी सचिव भोलानाथ पौडेलको उपस्थिति थियो ।









































