काठमाडौं, शुक्रबार, १२ कात्तिक २०७८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको संशोधित कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन आगामी मंसिर २४ देखि २७ गतेसम्म हुने तय भएको छ ।
बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि अब मंसिर २४, २५ र २६ गते हुने निर्णय गरेको थियो ।
आज सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिकमा हुनेछ भने गाउँ/नगर अधिवेशन ३० कात्तिकमा हुनेछ । यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ ।
सोलुखुम्बू, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन २७ कात्तिकमा र एक मात्र क्षेत्र भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मंसिरमा हुनेछ ।
उता, जुम्लाको जिल्ला अधिवेशन १ मंसिरमा हुने केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, विभिन्न ४६ वटा जिल्लाको प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ ।
रसुवा र रौतहटमा कायम विवाद समाधान भइ नसकेका कारण यी दुई जिल्लाको अधिवेशन मिति तोकिएको छैन । १६-१७ मंसिरमा प्रदेश अधिवेशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।









































