- ADVERTISEMENT -

छोटो समयको तयारीमा कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपाल

October 20, 2021
497
Shares

काठमाडौं, बुधबार, ३ कात्तिक २०७८ । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एकपटक ‘एएफसी यू-२३ एसियन कप २०२२ छनोट’ खेल्दैछ ।

ताजकिस्तानमा हुने छनोटका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । समूह ‘बी’ मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीले एन्फा कम्प्लेक्समा एक महिनाको तयारी गर्दै ताजकिस्तान प्रस्थान गरेको हाे । ताजकिस्तान प्रस्थान गरेको एक दिनअघि मात्रै प्रतियोगिता खेल्ने २३ खेलाडी होटलमा एकसाथ थिए । अर्थात् नेपालले एकैपटक आफ्नो अभ्यास सत्र बढाउन पाएन ।

यू-२३ टोलीमा रहेका ६ खेलाडी राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिप खेल्न माल्दिभ्सको मालेमा थिए । पहिलो पटक साफ उपविजेता टोलीबाट ६ खेलाडी पाएको नेपाली टोलीले त्यसबाहेक पाँच राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी पाएको छ । नेपाली टोली यिनै खेलाडीको प्रदर्शनको आधारमा ताजकिस्तानमा राम्रो नजिता दिने लक्ष्यमा छ ।

नेपालले समूह ‘बी’ मा एसियाको शीर्षस्थानमा रहेको इरानसँग ८ कात्तिकमा खेल्नेछ । इराक फिफा वरीयतामा २२औं स्थानमा छ ।

दोस्रो प्रतिद्वन्द्वी ताजकिस्तान हाे । फिफा वरीयतामा ११८औं स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ । लेबनान ९७औं स्थानमा छ । लेबनानसँग नेपालले १४ गते खेल्नेछ । नेपाल भने १६८औं स्थानमा छ ।

कठिन प्रतिद्वन्द्वी, तयारी अभावबीच प्रशिक्षक बालगोपाल महर्ज‍नसमेत कस्तो नतिजा आउने हो भन्न सक्ने अवस्थामा छैनन् । उनी सकेको राम्रो गर्नेमै ध्यान केन्द्रित हुने बताउँछन् । तर उनी ढुक्क छन् । ‘हाम्रो तयारी कम छ । प्रतिद्वन्द्वी एसियनस्तरभन्दा पनि युरोपेलीस्तरका पाएका छौं । सकेको राम्रो गर्छौ । यो टिमको लागि तयारी समय निकै छोटो छ । विगतको भन्दा धेरै तयारी गर्न पाएका छैनौं । मैले कम्तीमा तीन महिनाअघि अभ्यास गर्न र दुई मैत्रीपूर्ण खेल माग गरेको थिएँ । तर भएन । कुनै मैत्रीपूर्ण खेल खेल्न नपाएको अवस्थामा मलाई टिम सेट गर्न गाह्रो छ,’ प्रशिक्षक महर्जन भन्छन् ।

नेपालले प्रतियोगिताअघि इन्डोनेसियाको यू-२३ सँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको छ । यही खेल नै नेपाली टोलीको आफ्नो स्तर जाच्ने यन्त्र हुनेछ । र, आफ्नो सुरुवाती (प्लेइङ ) सेट समेत बनाउने मौका रहनेछ ।

प्रशिक्षक बालगोपाल भन्छन्, ‘इन्डोनेसियाविरुद्ध खेलेपछि आफ्नो टिम कस्तो छ, कुन स्तरमा छ थाहा हुन्छ ।’

उमेर समूहको यू-१६, १९ प्रतियोगितामा एसियामै बलियो प्रस्तुति दिँदै आएको नेपाल यू-२३ प्रतियोगितामा भने चुक्दै आएको छ । पछिल्लो दुई सहभागितामा भने नेपालले गोलसमेत गर्न सकेको छैन ।

यस्तै अवस्थामा यो टोलीलाई एउटा चुनौती छ । उमेर समूहमा आफूलाई प्रमाणित गर्ने । तर प्रशिक्षक बालगोपालले प्रतिद्वन्द्वी हेरेरै नतिजा आंकलन गरिसकेका छन् । उनको ध्यान अंक खोस्ने भन्दामा पनि गोल कम बेहोर्नेमा हुनेछ ।

‘इरान भन्ने टिम एसियाको मात्रै हैन । युरोप लेभलको टिम हो । समूहमा तीनै टोली हामीभन्दा धेरै बलिया छन् । सक्दो राम्रो नतिजा ल्याउन खेल्नेछौं,’ १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक जिताएका प्रशिक्षक बालगोपाल महर्जन भन्छन् ।

यसपटक प्रशिक्षक बालगोपाललाई ‘प्लस प्वाइन्ट’ के छ भने राष्ट्रिय टोलीबाट खेलिसकेका ११ खेलाडी टोलीमा छन् । जसले उनलाई निराशा गराउने छैनन् ।

साफ उपविजेता टोलीबाट मनिष डाँगी, आयुष घलान, सुरज ठकुरी, गौतम श्रेष्ठ, सुमन अर्याल र नितिन थापा रहेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका अभिषेक रिजाल, दर्शन गुरुङ, राजन गुरुङ, एरिक बिष्ट र विशाल श्रेष्ठ पनि छन् । राष्ट्रिय टोलीमा विशालले डेब्यू पाएका छैनन् ।

यस्तै कप्तान तथा गोलरक्षक अर्पण कार्की, शिशिर लेखी, रन्दीप पौडेल, सेसेहाङ आङ्देम्बे, अनिल महर्जन, रोशन पहाडी, राजीव लोप्चन जस्ता खेलाडीले टोलीमा साथ दिनेछन् ।

यिनै खेलाडी र पछिल्लो साफमा नेपालले ल्याएको नतिजाबाट एक प्रकारको ऊर्जा रहेको र नेपालले बलियो प्रस्तुति दिने महर्जन बताउँछन् ।

‘राष्ट्रिय ६ खेलाडी र अन्य गरी धेरै खेलाडी छन् । साफ उपविजेता भएर आएकाले खेलाडीमा ऊर्जा छ । सिनियर टोलीबाट खेलिरहेकाले धेरै गाह्रो छैन । कुनै पोजिसनमा अभ्यास अभावका कारण कठिनाइ छ । खेलाडी मानसिक रूपमा बलिया छन् । खेलाडीले आफ्नो क्षमताअनुसार खेले भने राम्रो नजिता आउँछ,’ उनले भने ।

यता, कप्तान अर्पण कार्की अभ्यास अभावका बाबजुद पनि राष्ट्रिय टोलीबाट खेलेका खेलाडी, उमेर समूहमा सँगै खेलेका खेलाडीबीच राम्रो तालमेल भएकाले राम्रो नतिजा निकाल्नेमा आफूहरू विश्वस्त भएको बताउँछन् ।

‘धेरै समय तयारी भएन । तर राम्रो भयो । फिटनेसमा ध्यान दिएका छौं । ६ जना राष्ट्रिय टोलीबाट आएका खेलाडी छन् जसका कारण हामीलाई सहज हुन्छ । लगातार उमेर समूहमा सँगै खेलेका खेलाडी छौं । सबै मिलेर खेलेपछि राम्रो नतिजा आउँछ । माथिका टिम छन् भनेर हामी डराएर खेल्न हुँदैन । कसरी फाइट गरेर हामी नतिजा लिन सक्छौं । त्यसतर्फ ध्यान दिन्छौं,’ उमेर समूहको यू-१८ साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाएका कप्तान अर्पणले भने ।

नेपाली ३२ टोली –
गोलरक्षक– अर्पण कार्की(कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू
मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट
स्ट्राइकर – रितिककुमार खड्का, मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजीव लोप्चान

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -