काठमाडौँ, आइतबार, २४ असोज २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनु भएको छ ।
गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताउनु भएको हो । आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
‘नेपाली जनताको जीवनरक्षा गर्ने राज्यको दायित्व हो । कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौं । र, जनताको जीवनरक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भीर छ,’ मन्त्री खाँणले भन्नुभयो, ‘यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ । कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ ।’ उहाँले भन्नुभयो ।








































