काठमाडौँ, असोज १७ गते । यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ ।
अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्छ, न्यूनचापीय रेखा बन्न र जलवाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । ” पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ ।








































