सर्लाही । गत वर्ष संघीय राजधानी काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा जान नपाएकोमा सर्लाहीको रामनगर गाउँपालिका–६ का कासी रायलाई ठूलो पछुतो लगेको छ । गत वर्ष आफूले उद्योगलाई बिक्री गरेको उखुकोे भुक्तानी वर्षौंसम्म नपाएका सयौँ किसानले खाली खुट्टा काठमाडाैँ गएर आन्दोलन गरेका थिए । लामो आन्दोलनपछि सरकारसँग सम्झौता पनि भयो ।
तत्काल केही उखु किसानले बाँकी रहेको भुक्तानी पनि पाए । केहीले अझै पाउँदै छन् । तर, रामनगरका रायले भने अहिलेसम्म एक पैसा पनि पाएका छैन्न । गाउँका सबैजना आन्दोलनमा जाँदा उनलाई पनि जान मन लागेको थियो । तर, पैसा नभएपछि उनी यसै रोकिए ।
‘गाउँमा अरु किसानहरूसँग भन्दा उनीहरूले पनि गाउँका अरु गएपछि तिमी नगए पनि पैसा पाइहाल्छौ नि भने,’ रायले दुखेसो गरे, ‘अहिले धेरै धेरै पैसा हुने, आन्दोलनमा गएकाले पैसा पाइसके, आफ्नो एक पैसा आएको छैन ।’ अब त रायलाई पनि आफू आन्दोलनमा नगएकै कारण पैसा नआएको जस्तो लाग्न थालेको छ ।
रायले झन्डै पाँच वर्षदेखि ८० हजार रुपैयाँभन्दा धेरै उखुको पैसा पाएका छैनन् । त्यति पैसाका लागि ऋण नै गरेर आन्दोलनमा जान पनि उनलाई मनासिव लागेन ।
सोमबार हाम्राे न्युज टाेली गाउँमा पुगेको थाहा पाएपछि राय हस्याङफस्याङ गर्दै आइपुगे । उनले देख्नेवित्तिकै एकै सासमा भने, ‘लौन सर अब त पैसा पाइन्छ जस्तो पनि लाग्न छाडिसक्यो ।’ किसानहरूको आन्दोलनपछि करोडौँ भुक्तानी गर्न बाँकी राखेका उद्योगहरूले धेरैजसो भुक्तानी गरिसकेका छन् । अझै धेरै किसानको बाँकी रहेको उनीहरूको गुनासो छ । उद्योगले पटकपटक निवेदन मागेको, तर पैसा नदिएको उनले बताए ।
उद्योगले किसानहरूलाई हिसाबकिताब नै नदेखाई भुक्तानी पूरा गरेको दाबीसमेत गर्न थालेपछि उनीहरूमा निराशा र आक्रोश देखिन थालेको हो । तर, उखु किसानका अगुवाहरू भने चुपचाप लागेका छन् । अगुवा किसान र उनीहरूका नजिकका किसानलाई उद्योगले भुक्तानी गरिसकेका कारण अन्य साना किसानको भुक्तानीमा वास्ता नगरेको उनीहरूको बुझाई छ । किसान नेताहरूसँग आफूहरूको भुक्तानी नभएको कुरा गर्दा विभिन्न सम्झौताको बहाना गर्ने गरेको अर्का किसान राममोहन दाशले बताए ।
त्यसबेला स्वास्थ्यमा समस्या भएपछि आन्दोलनमा सरिक हुन नपाएका गोडैता नगरपालिका-१०, का शिवशरण पासवानले पनि अझै पैसा पाउन सकेका छैनन् । आर्थिक अवस्था अत्यन्त दयनीय रहेका पासवानले त्यसबेला सञ्चारकर्मीसँग पैसा नभएकै कारण उपचार गर्न नपाएको गुनासो गरेका थिए । उद्योगले पैसा देला र वर्षातको समयमा भत्किएको फुसको घर बनाउला भनेर बसेका पासवान अझै छिमेकीको छिँडीमा रात कटाइरहेका छन् ।








































