काठमाडौं, शनिबार, २६ भाद्र २०७८ । नेपालले दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पपुवा न्युगिनीलाई १५१ रनले पराजित गरेको छ ।
शुक्रबार ओमानको मस्कटमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमै समेटिएको हो ।
पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले १९ रन जोडे । अर्का ओपनर लेगा साइका ४ रनमै आउट भए । चार्ल्स अमिनिले १६, सेसे बाउले ११, बोपलिन डोरिगाले ४, कप्तान असद भालाले १ रनको योगदान गरे ।
यस्तै, गोउडी टोकाले १०, नरमान भनुवाले १२ रन, कबुवा मोरेआले एक रन जोडे । डामियन राभु नट आउट रहे । चाड सोपेर शून्यमै आउट भए ।
नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ६ विकेट लिए । बलर सोमपाल कामी, विक्रम सोव र सुशन भारीले समान एक/एक विकेट लिए ।
यसअघि नेपालले ४९.३ ओभर खेल्दै १० विकेट गुमाएर २३३ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८६ रन बनाए । यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४५, करन केसीले ४२, विनोन्द भण्डारीले १७, सोमपाल कामीले ११ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले समान ३/३ रन जोडे । विक्रम सोव र कुशल मल्लले समान १/१ रन जोडे । सुशन भारी नट आउट रहे भने सन्दिप लामिछाने रन आउट भए ।
पपुवा न्युगिनीका लागि चाड सोपेर सर्वाधिक ३ विकेट लिए । कबुवा मोरेआ र नरमान भनुवाले समान २/२ विकेट लिए । चार्ल्स अमिनिले एक विकेट लिए ।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हराएको थियो । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।
नेपालले पपुवा न्युगिनीसँगको खेलपछि आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पपुवा न्युगिनीसँग खेलेको हो ।









































