काठमाडौँ, बिहिबार, २४ भाद्र २०७८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुमोदन गर्ने वा नगर्नेबारे वर्तमान सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आफ्नो निवास बालकोटमा बिहीबार दिउँसो भएको भेटमा अध्यक्ष ओलीले एमसीसीबारे पहिले सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताएका हुन् । आफूहरु प्रतिपक्षमा रहेकाले प्रत्यक्ष भूमिकामा नभएको उनको भनाई थियो ।
‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमानदार प्रयास गरेकै हौँ’ अध्यक्ष ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘ अहिले हामी प्रतिपक्षमा छौँ । यसमा हाम्रो प्रत्यक्ष भूमिका हुँदैन । त्यसकारण अब सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ ।’ ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि बताएका थिए ।
जवाफमा एमसीसी उपाध्यक्ष सुमारले अनुमोदनको प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।
बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको प्रतिनिधिमण्डल सहभागि थियो । यता एमालेको तर्फबाट भने विदेश विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायत नेता सहभागि थिए ।








































