काठमाडौँ, बिहिबार, १० भाद्र २०७८ । वाकोट र धादिङको सीमावर्ती क्षेत्रमा निर्माणाधीन बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणमा व्यापक ढिलासुस्ती देखिएको छ ।
गत वर्षको मंसिरमा नै सम्पन्न भइसक्नुपर्ने ल्यान्डफिल साइट अब कहिलेसम्म निर्माण सम्पन्न भएर फोहोर विसर्जन गर्न मिल्ने भन्ने अझै पनि अनिश्चित छ । हाल काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको सिसडोल भरिएपछि अहिले काठमाडौं उपत्यकामा फोहोरको थुप्रोसमेत लागेको छ ।
सरकारले २०६२ सालमै तीन वर्षभित्र बन्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर, सो योजना अहिलेसम्म पनि अधुरै रहेको छ ।
केपी ओली नेतृत्वको सरकारका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले १६ कात्तिक २०७७ मा एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिए पनि ढिलासुस्तीका कारण अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिएको छैन । यो समाचार आजको राजधानी दैनिकमा छ ।








































