काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
बन्द प्रशिक्षणका लागि पहिलो चरणमा बिनु बुढामगर, रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्योति पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ ।
टी–२० विश्वकपका लागि नेपालले मलेसियामा ग्लोबल छनोट खेल्नेछ । घोषणा टोलीमा अनुभवी खेलाडी बिनु बुढामगरले पुनरागमन गर्नुभएको छ । पछिल्लो एक दशकपछि उहाँले टोलीमा पुनरागमन गर्नुभएको हो । सशस्त्र प्रहरी बलकी बिनु बुढामगरले चैतमा भएको ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शनका साथ पाँच खेलमा ६६ रन खर्चेर १० विकेट लिँदै उत्कृष्ट बलर घोषित हुनुभएको थियो ।
क्यानले पछिल्ला दुई घरेलु क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप महिला क्रिकेट र ललितपुर मेयर्स वुमन्स च्यापियनसिप प्रतियोगिता प्रदर्शनका आधारमा टोली घोषणा गरेको हो । नेपाली महिला टोलीले पछिल्लोपटक अन्तर्राष्ट्रिय खेल गत वर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलेका थिए । नेपाली महिला क्रिकेटका पछिल्लो समय दुई घरेलु प्रतियोगिता भएका छन् ।
एसिया छनोट आगामी मंसिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपालले खेल्ने एसिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो ।









































