काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले सभापति शेरबहादुर देउवाको विकल्पमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको सभापतिका आकांक्षी बनेका पौडेल-कोइराला समूहका नेताहरुबीचको बैठकले सो निर्णय गरेको हो ।
‘हाम्रो समूहबाट साझा उम्मेदवार बनाउन सके हामीले महाधिवेशन जित्छौं र जित्नु पर्छ भनेर साझा उम्मेदवार उठाउने निर्णय भएको छ।’ सहभागि एक नेताले भने, ‘अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा विमर्श गरेर यसबारे ठोस टुङ्गो लाग्छ ।’
बैठकमा क्रियाशील सदस्यता विवाद, सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको छ । बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए ।








































