कावासोती, बिहिबार, ३ भाद्र २०७८ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।
वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेला भनेको झनै पात सबै सुकेर मर्न लागेको छ”, उनले भने ।
यस वर्ष समयमै पानी पर्दा रोपाईँ पनि समयमै भएकाले किसानले धान खेती राम्रो हुने आशा गरेका थिए तर, धानमा बाला लाग्ने बेला हुन लाग्दा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लक क्षेत्र कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा पनि रोग देखिएको छ ।
किसानको गुनासो आएपछि कृषि ज्ञान केन्द्रले अनुगमन गरेको छ । धान ब्लक सञ्चालन गरिएको कावासोती र गैँडाकोटमा अनुगमन गरिएको हो । जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको गुनासो आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए ।
क्रमशः सबै स्थानीय तहमा अनुगमन गर्ने योजना रहेको उनले जानकारी दिए । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासु रेग्मी, प्रभनमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख विष्णुप्रसाद शर्मा समेतको सहभागितामा केही दिनअघि अनुगमन गरिएको हो ।
ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीका अनुसार धानमा ब्याक्टेरीयल, ढुसीजन्य रोग र गबारो देखिएको छ । सबैभन्दा बढी खाद्य तत्वको कमी पाइएको छ । धान बालीमा पानी बढी हुँदा ब्याक्टेरीयल र ढुसीजन्य रोग देखिने उनको भनाइ छ । खाद्य तत्वको कमीले पनि पात रातो हुने, बाली सुक्ने उनले बताए । किसानले खाद्य तत्वको कमी भएको भन्ने थाहा नपाउँदा खेतीमा नोक्सान पुग्ने गरेको उनले जानकारी दिए ।








































