Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१५:२९ बिहान
- ADVERTISEMENT -

माननीय गृहमन्त्री बालकृष्ण खाणद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

प्रकाशित मिति: २०७८ साउन ३१, आइतबार

384
Shares

काठमाडौं, ३१साउन २०७८ । माननीय गृहमन्त्री बालकृष्ण खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण पश्चात गृहमन्त्री खाणले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, संघिय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो ।

सो क्रममा उहाँले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो । आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँहरुमा आमनागरिक तथा जनप्रतिनिधिहरुबाट प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको माग एवम् सुझाव आएको उल्लेख गर्दै सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवम् दायित्वको लागि नेपाल सरकार पूर्ण सकारात्मक रुपमा अगाडि बढेको उहाँले बताउनुभयो । प्रहरीको कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामाग्री उपलब्ध गराउने एवम् आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकप्रति उहाँले सम्मान प्रकट व्यक्त गर्नुभयो ।

सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरुलाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको चर्चा गर्दै गृहमन्त्री खाणले कोभिड-१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको बताउनुभयो । साथै मुलुकको शान्ति सुव्यवस्थामा नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी कर्मचारीको क्षमताको उपयोग गर्नुपर्ने र आमनागरिकहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोडदिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो ।

सो अवसरमा गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालना मार्फत नागरिक रक्षा, सुखी राष्ट्र निर्माण एवम् नागरिकको जीवन रक्षाको लागि प्रहरी सदैव दृढ संकल्पित रहेको उल्लेख गर्नुभयो । प्रहरी संगठनलाई अझ व्यवसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने चर्चा गर्दै प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रभावकारी तवरले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् कानूनको प्रत्याभूति दिलाउन प्रहरी संगठनको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव पाण्डेले उक्त भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरुमा स्वअनुशासित, स्वविवेक एवम् उच्च व्यवसायिकताको अपेक्षा नागरिकहरुले गरेको र सोही अनुरुप प्रहरी संगठन अगाडि बढ्नुपर्ने बताउनुभयो । विकास निर्माणका काममा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सरोकारवाला निकायसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको साथै कालोवजारी नियन्त्रण तथा विपद्‍बाट हुने क्षतिको न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोवल विषयमा शोध र प्राप्त सुझावहरुको कार्यान्वयन, प्रहरी कर्मचारीहरुको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रवद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको बताउँदै फैसला कार्यान्वयन, हातहतियार तथा लागूऔषध बरामद र राजश्व चुहावट रोक्नमा नेपाल प्रहरीले उल्लेखनीय योगदान पुर्‍याएको चर्चा गर्नुभयो । कोभिड १९ महामारी विरुद्धको अभियानको सार्थक कार्यान्वयन, प्रहरी संगठनको पूनर्सरचना तथा कर्मचारीको थप व्यावसायिकिकरण लगायतका चुनौतीहरुलाई संगठनले अवसरको रुपमा वदल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसअघि गृहमन्त्री खाण र गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको थियो ।

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री खाण समक्ष प्रहरी नयाव महानिरीक्षक ईश्वर बाबु कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, संघिय प्रहरी ईकाइ कार्यालय एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -