नुवाकोट,( शिवपुरी), आइतबार, ३१ साउन २०७८ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पालिकाको अस्पतालमा डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारबाट डिजिटल एक्सरे सञ्चालनमा ल्याएको हो ।
नुवाकोट जिल्लामा नै गाउँपालिकामध्ये पहिलोपटक शिबपुरी आधारभुत अस्पतालमा डिजिटल एक्सरे सहितको सेवा प्रदान गरिएको हो । यस सेवाबाट छिमेकी गाउँपालिकाका बिरामी समेत लाभान्वित हुने शिवपुरी गाउँपालिकाले जनाएको छ । अस्पतालमा जापानिज कोनका ब्रान्डको सी आर सहितको एक्सरे सेवा जडान गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकाको सामुदायिक अस्पतालमा शुक्रबारबाट डिजिटल एक्सरेको जडान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “ यो सेवाबाट शिवपुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ ।” गाउँपालिकाले यसअघि देखि नै एमबिबिएस डक्टर सहितको सेवा प्रदान गर्दै आएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा उल्लेख्य कार्य गरेको भन्दै उहाँले पालिकाको अस्पतालमा डिजिटल एक्सरे जडानले स्वास्थ्य क्षेत्रमा थप पूर्वाधार तयार भएको बताउनुभयो ।
गाउँपालिका स्थित् स्वास्थ केन्द्रमा बिगतदेखि नै निशुल्क रेबिज खोप सेवा, टीटी खोप सेवा सहित ७ ओटा स्वास्थ संस्थामा २४ सै घण्टा डेलिभरी सेवा सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना रोकथाम, निन्यन्त्रण, सचेतना अभिबृद्धि लगायतका कार्यमा उच्च प्राथमिकता दिदै आएको छ ।








































