पोखरा, बिहिबार, २८ फागुन २०७८ । नेपाल क्रिकेट संघ (क्यान) ले गण्डकी प्रदेशसँग मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहलगायत सम्मिलित टोलीले भेटवार्ता गर्दै मुख्यमन्त्री कपको प्रस्ताव गरेको थियो ।
क्यानले मुख्यमन्त्री कप पोखराबाट सुरुवात गर्ने प्रस्ताव गण्डकी प्रदेशसँग राखेको छ । मुख्यमन्त्री कप आयोजना गर्न प्रदेश २ पनि सकारात्मक रहेको बुझिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्रले प्रतियोगिता आयोजना गर्न धेरै सकारात्मक जवाफ दिएको क्यानका कोषाअध्यक्ष तथा आर्थिक समितिका संयोजक सिंहले जानकारी दिनुभयो ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो संस्करण आयोजना गर्दै क्यान सुरुवात गर्ने तयारी गरेको छ । सात प्रदेशबीच हुने प्रतियोगितामा ओडीआई वा टी-२० कुन शैलीको हुने टुंगो भने लागेको छैन । सोमबार क्यान टोलीले गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङे, भौतिक पूर्वाधार, सहरी तथा विकास मन्त्री कुमार खड्का, कानुन मन्त्री बन्दुकुमार थापासँग भेटघाट गर्दै क्रिकेट विकासका लागि छलफल गरेको थियो । क्यानले उमेर समूह, महिला र पुरुष गरी एक वर्षम एक दर्जन प्रतियोगिता गर्ने तयारी गरिरहेको छ ।
क्यानले गत पुसमा महिला प्रधानमन्त्री कप, माघमा प्रधानमन्त्री कप पुरुष, फागुनमा काठमाडौं मेयर्स कप र चैतमा ललितपुर महिला च्याम्पियनसिप टी-२० प्रतियोगिता आयोजना गरेको थियो ।









































