काठमाडौं, सोमबार, २५ साउन २०७८ । काठमाडौं महानगर भित्रका घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम महानगरपालिकाले सार्वजनिक गरेको छ ।
कामपा राजस्व विभागले लामो समयदेखि वडामार्फत् गरिएको ताकेतालाई अटेरी गरेका कारण ३० दिने म्यादसहित नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।
विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्ने लगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ । उनका अनुसार यसअघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरैजसो सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् ।
सम्पर्कमा आउनेले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही अझै पनि सम्पर्कमा आएका छैनन् ।
अहिले विभागले सम्पर्कमा नआएका करदाताहरुको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकालाई लिखित र मौखिक सूचना गरिएको विभागले जनाएको छ ।
विभागका प्रमुख अधिकारीले महानगरको अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प नभएको बताए ।
विभागले सार्वजनिक गरेको सूचीमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, होटल ग्याङजोङ (हाल हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस, ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्डस), गोपीकृष्ण मुभिज प्रालि, काठमाडौं जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स रहेका छन् ।
त्यस्तै टाउन डेभलपर्स प्रालि, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध मल, सिद्धार्थ बनस्थली स्कुल, जनमैत्री अस्पताल, ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाईट फिल स्कूल, आदर्श नगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी संचयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत प्राधिकरण, नेसनल ट्रेडिङ, नेपाली जामे मस्जिद, मैतीदेवी प्लाजा, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स रहेका छन् ।








































