काठमाडौं, आइतबार, १७ साउन २०७८ । असार १ गते आएको बाढीमा जोगिएको सिन्धुपाल्चोकको रातो पुल आइतबार बिहान आएको बाढीले बगाएको छ ।
बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
रातो पुल बगाएसँगै मेलम्ची र हेलम्बुको सडक सम्पर्क विच्छेद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । असार १ गतेको बाढीमा रेडियो मेलम्चीको भवन डुबानमा परेको थियो ।
मेलम्चीमा गएरातिदेखि नै फेरि लेदो माटोसहितको बाढी आएको छ । मानवीय क्षति भने भएको छैन ।








































