गोरखा, बिहिबार, ७ साउन २०७८ । चौधौँ महाधिवेशन नजिकिदै गर्दा नेपाली काङ्ग्रेस गोरखामा धमाधम पालिका तथा वडास्तरका भेला तथा अन्तरक्रिया हुन थालेका छन् । गत साउन तीन गतेबाट सुरु भएको क्षेत्र नं. २ को सबै पालिका तथा वडाको भेला तथा अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले आसन्न वडा, गाउँ, क्षेत्र तथा जिल्ला अधिवेशनमा गुट, उपगुटको जालझेल, षड्यन्त्र प्रदर्शन नगर्न आग्रह गरेका थिए ।
‘गोरखाबाट तीनजना केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टी सभापति हुनुहुन्छ । शीर्ष नेता चिरञ्जीवि वाग्ले हुनुहुन्छ । उहाँहरुले पर्याप्त गृहकारी गरी सबै समिति सर्वसम्मत गराउनु पर्छ भन्ने सुझाव आयो’, क्षेत्रीय सभापति गोविन्द गुरुङले भेलामा उठेका महत्वपूर्ण सुझावहरु सुनाए, ‘केन्द्रीय नेताले टेलिफोन गरी कसैलाई तिमी उठ, छोड्दै नछोड भनेर अनावश्यक रुपमा उक्साउने, फुटाउने गर्नुहुन्न भन्ने सुझाव आयो । केन्द्रका नेताहरुले हस्ताक्षेप नगरुन् भन्ने सुझावहरु पनि आयो ।’
बुधबार गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्मका नेता, कार्यकर्ताहरुको भेला सम्पन्न भयो । जिल्ला कार्यसमितिका सभापति हरिबहादुर घलेको अध्यक्षता र केन्द्रीय सदस्य कमला पन्तको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।








































