काठमाडौं, बिहिबार, ३१ असार २०७८ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिनुभयो ।
लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर-बिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
थप गरिएको निषेधाज्ञामा काठमाडौं, भक्तपुर र ललितपुरका पसल खोल्ने समय एक घण्टा थप गरेको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
काठमाडौं जिल्ला प्रशासनको आदेश अनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाउनेछन् ।
रेष्टुरेन्ट तथा फास्टफुडको हकमा टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न अनुमति दिएको पराजुलीले बताउनु भयो । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन् ।








































