काठमाडौँ, सोमबार, २८ असार २०७८ । सर्वोच्च अदालतको फैसलापछि बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा सभापति देउवाले मंगलबार नै सानो आकारको मन्त्रिमण्डल विस्तार गरेर अघि बढ्ने बताएका छन् ।
कोटेश्वरस्थित् माधव कुमार नेपालको निवास नजिकैको सभाहलमा बसेको बैठकले अदालतको फैसलाको स्वागत गरेको छ । अदालतको आदेश अनुसार भोलि नै शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने पनि निर्णय गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सबैलाई समेटेर सरकार बनाउनेबारे छलफल भएको जानकारी दिएका छन् ।
बैठकमा माधव नेपालले आफ्नो पार्टीको परिवर्तित राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए । र, यो परिवर्तित अवस्थालाई बुझिदिन नेता नेपालले आग्रह गरेको रघुजी पन्तले जानकारी दिए । र, अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सबैलाई समेटेर अघि बढ्न पनि नेता नेपालले आग्रह गरेको उनले बताए ।








































