काठमाडौँ, बुधबार, २३ असार २०७८ । चीनका राष्ट्रपति सी चिनफिङले जनताको खुसी र जनताको प्रगति खोज्ने ऐतिहासिक जिम्मेवारी विश्वका सबै राजनीतिक दलहरूको रहेको बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव समेत रहनुभएका राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीको सम्मेलनलाई मङ्गलबार भर्चुअल सम्बोधन गर्नुहुँदै जनताको सुखद भविष्यका लागि सबै मुलुकका राजनीतिक दलहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक शतवार्षिक उत्सव हर्षोल्लासपूर्वक मनाइरहेको सन्दर्भमा यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको सहभागिता थियो ।
सम्मेलनमा विश्वका १६० भन्दा बढी देशका राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सम्बोधनका क्रममा राष्ट्रपति सीले भन्नुभयो, “राजनीतिक दलहरूले मानवजातिको साझा भविष्यलाई आकार दिन दिशा निर्देश गर्ने र मानवहितको साझा मूल्य मान्यता कायम गर्न सहमतिलाई अझ सुदृढ बनाउनुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ ।”
सबै देशका जनतामा विकासको फल अझ व्यापक र अधिक समान रूपमा वितरण हुनुपर्ने औँल्याउँदै राष्ट्रपति सीले विकास सबैको अधिकार भएको र त्यो कसैको विशेषाधिकार नभएको प्रस्ट पार्नुभयो ।








































