काठमाडौँ, २१ असार २०७८ । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ ।
आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो ।
यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ‘कामपाको आर्थिक विधेयक, २०७८’ प्रस्ताव गर्नुभएको थियो ।
सोही बैठकमा उपप्रमुख हरिप्रभा खड्गीले आव ०७८/०७९ का लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट र विनियोजन विधेयक, २०७८ पेश गर्नुभएको थियो । यसअघि असार ३ गते सभामा पेश भएको आव ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम छलफलपछि असार ६ गते बसेको तेस्रो बैठकले पारित गरेको थियो ।
आव ०७८/०७९ का लागि आन्तरिक आयतर्फ रु चार अर्ब ३४ करोड ३२ लाख लक्ष्य राखिएको छ । विश्वभरि फैलिएको कोरोना महामारीले उद्योग र वाणिज्य क्षेत्र तथा सामान्य जनजीवनमा पारेको प्रभावलाई विश्लेषण गरेर कम्तीमा २० प्रतिशतदेखि बढीमा ९० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा ५० प्रतिशत बीमा शुल्क बेहोर्न बजेट प्रस्ताव गरिएको छ ।








































